जुट्दै महन्थ–हृदयेश!

काठमाडौं- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर र जनता प्रगतिशील पार्टी (जप्रपा) का अध्यक्ष हृदयेश त्रिपाठी फेरि एकै ठाउँमा आउन लागेका छन्।

६ वर्षअघि अलग भएका ठाकुर र त्रिपाठी फेरि एकै ठाउँमा आउन लागेका हुन्।

२०७४ सालको निर्वाचनअघि ठाकुर र त्रिपाठीको ‘सम्बन्ध विच्छेद’ भएको थियो।

लोसपा र जप्रपाबीच कार्यगत एकताका लागि छलफल सुरू भएको लोसपाका एक नेताले बताए। उनका अनुसार दुवै पार्टीबीच कार्यगत एकता हुने लगभग पक्का भइसकेको छ।

‘ठाकुरजीसँग त्रिपाठीजीको एक दुई चरणको छलफल भएको छ। कार्यगत एकताका लागि छलफल सुरू भएको छ,’ ती नेताले भने,‘कार्यगत एकता हुने लगभग पक्का भइसकेको छ, एक दुई दिनमा टुंगो लाग्छ।’

ती नेताका अनुसार कार्यगत एकता भइसकेपछि दुवै पार्टीबीच एकीकरण हुने सम्भावनासमेत रहेको छ।

लोसपाका नेताहरूका अनुसार वरिष्ठ नेता राजेन्द्र महतोको कार्यशैलीप्रति असन्तुष्ट भएर त्रिपाठी त्योबेला पार्टीबाट बाहिरिएका थिए।

अहिले महतो असन्तुष्ट बनेको बेला त्रिपाठीले लोसपासँग कार्यगत एकताको प्रस्ताव अघि सारेका छन्।

अध्यक्ष ठाकुरले केन्द्रीय समिति विस्तार गरेदेखि वरिष्ठ नेता महतो असन्तुष्ट बनेका छन्। पदाधिकारी चयनमा पनि उनले असन्तुष्टि पोखिरहेका छन्।

महतोले केही दिनअघि कामाठमाडौंको कालिकास्थानमा बसेको केन्द्रीय समिति बैठक नै बहिष्कार गरेका थिए।

लोसपा पार्टी कार्यालय जानसमेत छाडेका महतो यतिबेला पुराना सदभावनाका नेता कार्यकर्तालाई एकजुट गरेर मधेसका जिल्लाहरूमा छुट्टै राजनीतिक गतिविधि अगाडि बढाइरहेका छन्।

उनीनिकट नेताहरूका अनुसार महतो आफ्नो पुरानो पार्टी सदभावना ब्युँत्याउने तयारीमा छन्।

महतो अब धेरै दिन लोसपामा नटिक्ने लोसपाका कतिपय नेताहरूको अनुमान छ।

‘जुन प्रकारले उहाँको राजनीतिक गतिविधिहरू अगाडि बढिरहेका छन्, त्यसलाई हेर्ने हो भने उहाँ अब धेरै दिन लोसपामा बस्नु हुन्न भन्ने हामीलाई लागेको छ,’ लोसपाका ती नेताले भने।

पार्टीबाट महतो बाहिरिएकै दिन त्रिपाठीसँग एकता हुने उनको भनाइ छ।

‘अब उहाँ धेरै दिन पार्टीमा रहने सम्भावना हामीले देखेका छैनौं, उहाँ आउट भएकै दिन त्रिपाठीजी इन गर्नुहुन्छ,’ उनले भने।

२०७४ सालमा मधेस केन्द्रित तत्कालीन ६ दलबीच एकीकरण भइ राष्ट्रिय जनता पार्टी (राजपा) निर्माण हुँदा त्रिपाठी अध्यक्षमण्डलको सदस्य हुन चाहेका थिए।

तर, अध्यक्षमण्डलको सदस्य बन्न नपाएपछि त्रिपाठी रूष्ट बनेका थिए।

२०७४ को निर्वाचनअघि उनी तत्कालीन राजपा छाडेर स्वतन्त्र भएका थिए। त्यो निर्वाचनमा त्रिपाठी एमालेको चुनाव चिह्न लिएर चुनाव जितेका थिए।

२०७९ मा उनले आफ्नै नेतृत्वमा जनता प्रगतिशील पार्टी (जप्रपा) गठन गरे। २०७९ सालको निर्वाचनमा यो पार्टीले कहिँ पनि सफलता हासिल गर्न सकेन।

ठाकुर र त्रिपाठी एकै ठाउँमा रहेर लामो समयसम्म राजनीतिलाई अगाडि बढाएका थिए।

तत्कालीन तराई मधेस लोकतान्त्रि पार्टी (तमलोपा) मा ठाकुर अध्यक्ष रहँदा त्रिपाठी सहअध्यक्ष थिए।

 

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *