काठमाडौं- नेपालबाट अवैध रूपमा मेक्सिको हुँदै ११ जना भारतीयलाई अमेरिका पठाउन सक्रिय रहेको आरोपमा प्रहरीले ७ जना भारतीयलाई पक्राउ गरेको छ।
उनीहरूमाथि अनुसन्धान गरिरहेको काठमाडौं प्रहरी परिसरले बिहीबार पत्रकार सम्मेलन गरेर उनीहरूको गिरफ्तारीबारे विस्तृत जानकारी दिन लागेको छ।
अमेरिका जान भनेर नेपाल ल्याइएका भनिएका ११ जना भारतीय नागरिकहरूलाई उद्धार गरिएको र यो गतिविधिमा संलग्न रहेका सात जना भारतीयलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख भुपेन्द्र खत्रीले जानकारी दिएका छन्।
अमेरिकी विदेश मन्त्रालयको मानव बेचबिखनसम्बन्धी एउटा प्रतिवेदनले गैरकानुनी आप्रवासनका क्रममा नेपाललाई मानव तस्करहरूलाई ‘ट्रान्जिट’ मुलुकका रूपमा पनि प्रयोग गर्ने गरेको उल्लेख छ।
काठमाडौं जिल्ला प्रहरी परिसरका प्रमुख खत्रीका अनुसार प्रहरीले भारतीय गिरोहको चंगुलबाट ११ जना भारतीयहरूलाई उद्धार गरेको छ।
यो गतिविधिमा सक्रिय गिरोहले मेक्सिको हुँदै अमेरिका पठाइदिन्छु भनेर राम्रै रकम लिएर नेपालमा ल्याएर दुबइ हुँदै त्यता पठाइदिने भनेर राखेको उनले बताए।
पक्राउ परेको समूहबाट नक्कली कागजपत्रहरू पनि बरामद भएको प्रहरीले बताएको छ। प्रहरीका अनुसार फर्जी राहदानीदेखि टिकट र स्ट्याम्पसमेत यो समूहबाट बरामद भएको छ।
प्रहरीले उद्धार गरेकाहरू हरियाणा, दिल्लीलगायत विभिन्न ठाउँका रहेको बताइएको छ।
प्रहरीका अनुसार पीडितहरूलाई काठमाडौंको रातोपुलमा सिंगै घर भाडामा लिएर राखिएको अवस्थामा पाइएको छ।
कतिपय व्यक्तिहरूलाई १४ दिन, कतिपयलाई २० दिन र कतिपयलाई महिनौंदेखि राखिएको पाइएको छ।
अहिले पक्राउ परेको गिरोहले अमेरिका पठाइदिने भन्दै ४० देखि ४५ लाख रूपैयाँसम्म असुल गरेको पाइएको छ।
प्रहरीले यो घटनालाई मानव बेचबिखन र बन्ध बनाएर राखिएको कसुरका रूपमा अनुसन्धान गरिरहेको छ।
Leave a Reply