DHKHABAR

All news at one place

समाचार

नागरिकता विवाद : वीरगञ्जका मेयर सिंहकी कान्छी श्रीमतीले दिइन् सम्बन्धविच्छेदको मुद्दा

जनकपुरधाम- नागरिकता विवादमा मुछिएका वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह कानुनको फन्दाबाट जोगिन दाउपेच सुरू गरेका छन्।

नक्कली बाबु बनेर नागरिकता दिलाएको विवादमा फसेका मेयर सिंह त्योबाट उम्किन कानुनी दाउपेच सुरू गरेका हुन्।

सिंहले नक्कली बाबु बनेर रूबिना श्रेष्ठ नामक व्यक्तिलाई नागरिकता दिलाएको आरोपमा उनीविरूद्ध दर्जनबढी उजुरी परेको छ।

उजुरीमाथि छानबिन गर्न गठित समितिले दुई दिनअघि उनीसँग बयान लिएको थियो। बयानका क्रममा मेयर सिंहले आफ्नी दुईटा श्रीमती भएको र अर्काकी छोरी भनिएकी रूबिना आफ्नै छोरी भएको स्वीकारेका थिए।

छानबिन समितिसमक्ष बयान दिएको २४ घन्टा नबित्दै मेयर सिंहकी दोस्रो श्रीमतीले सम्बन्ध विच्छेदको फिरादपत्र दर्ता गराएकी छन्।

आफ्नो दुईटा श्रीमती रहेको स्वीकारेको एक दिन नबित्दै त्यही श्रीमतीबाट फिरादपत्र दर्ता हुनुलाई कानुनका जानकारहरूले ‘कानुनी दाउपेच’ का रूपमा अथ्र्याएका छन्।

सिंहकी कान्छी श्रीमती रिता भट्टराई सिंहले अंश दिलाइ सम्बन्ध विच्छेद गरी पाउँ भनेर फिरादपत्र दिएकी हुन्।

जिल्ला अदालत पर्सामा आइतबार सिन्धुपाल्चोकको इन्द्रवती गाउँपालिका निवासी रिता भट्टराई सिंहको नामबाट फिरादपत्र दर्ता भएको हो।

फिरादपत्रमा भनिएको छ,‘राजेशमान सिंहसँग मेरो प्रेम सम्बन्ध थियो, त्यही सम्बन्धले २०५९ असार ३० गते छोरी रूबिना श्रेष्ठको जायजन्म भएको हो। तर, २०८० असारदेखि विपक्षीहरू मलाई बेवास्ता गरेको हुनाले मलाई मुलुकी देवानी संहिता, २०७४ को दफा (७४) अनुसार राजेशमान सिंह मेरो पतिको रूपमा स्थापित भइरहेको हुँदा त्यसबमोजिम अंश दिलाइ सम्बन्ध विच्छेद गरी पाउँ भनी फिराद दायर गरेकी हुँ।’

भट्टराईले राजेशमान आफ्नो पति रहे पनि विवाह दर्ताको प्रमाणपत्र नलिएको फिरादपत्रमा उल्लेख गरेकी छन्।

विवाह दर्ता नभएकै कारण नागरिकता ऐन उल्लंघनमा परेर कारबाही हुनसक्ने भएकाले प्रमाण खडा गर्न फिरादपत्र दिलाइएको कानुनका जानकारहरूका भनाइ छ।

फिरादको आधारमा प्रमाण खडा भइसकेपछि त्यही आधारमा अंश दिएर सहमतिमै सम्बन्ध विच्छेद हुने र नागरिकता ऐनको कारबाहीबाट जोगिने दाउ रहेको कानुनविदहरू बताउँछन्।

शारीरिक सम्पर्कबाट शिशुको जन्म भएमा त्यो स्वतः विवाह भएको ठहर हुने मुलुकी देवानी संहितामा भनिएको छ।

संहिताको भाग ३ मा पारिवारिक कानुन परिच्छेदको (१) मा विवाहसम्बन्धी व्यवस्था छ। ऐनको दफा ७४ मा ‘शारीरिक सम्पर्कबाट शिशु जन्मेमा त्यसहलाई विवाह भएको मानिने’ उल्लेख छ।

कुनै पुरुषसँगको शारीरिक सम्पर्कबाट महिलाले गर्भधारण गरी शिशु जन्मिएको प्रमाणित भए स्वतः विवाह भएको मानिनेछ संहितामा भनिएको छ।

‘(१) को दफा ६९ को उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै पुरुषसँगको शारीरिक सम्पर्कबाट महिलाले गर्भधारण गगरी शिशु जन्मिएको प्रमाणित भएमा त्यस्तो पुरुष र महिलाबीच स्वतः विवाह भएको मानिनेछ,’ मुलुकी देवानी संहितामा उल्लेख छ।

मुलुकी देवानी संहितामा भएको यही व्यवस्थालाई टेकेर नागरिकता ऐनको कारबाहीबाट जोगिन सम्बन्ध विच्छेदको माग राख्दै फिरादपत्र दर्ता भएको कानुनको जानकारहरूको भनाइ छ।

नक्कली छोरी बनाइ नागरिकता दिलाएको आरोपबारे मेयर सिंहले यसअघि पनि यो आफ्नो निजी मामिला रहेको बताउँदै आएका थिए।

बहुबिवाहको मुद्दा लाग्ला?

छानबिन समितिसमक्ष मेयर सिंहले आफ्नी दुईटा श्रीमती रहेको बयान दिएपछि कतिपयले उनलाई बहुविवाहको मुद्दा लाग्नसक्ने तर्क गरेका थिए।

कानुनको बर्खिलाप हुनेगरी बहुविवाह गरेको भन्दै सामाजिक सञ्जालहरूमा धेरैले सिंहमाथि मुद्दा चलाउनुपर्ने धारणा राखेका थिए।

कानुनले बहुविवाहलाई बर्जित गरेको छ। बहुविवाह गर्ने पुरुषलाई एक वर्षदेखि पाँच वर्षसम्म कैद सजाय हुने कानुनी व्यवस्था छ। र, बहुविवाह ठहर भएमा त्यो स्वतः बदर हुने व्यवस्था छ।

मुलुकी अपराध संहिता, २०७४ को दफा १७५ मा बहुविवाह गर्न नहुने र त्यस्तो बहुविवाह स्वतः बदर हुने व्यवस्था छ।

तर, बहुविवाहका विरूद्ध उजुरी दिने अधिकार कानुनले पहिलो पत्नीलाई मात्रै दिएको छ।

पहिलो पत्नीले बहुविवाहको उजुरी नदिएमा वा दोस्रो विवाह भएको जानकारी आएको तीन महिनाभित्र उजुरी नदिएमा पनि हदम्याद सकिने व्यवस्था छ।

नागरिकता प्रकरणसम्बन्धी विवाद सार्वजनिक भएको तीन महिना बितिसकेको छ। तर, उनकी जेठी श्रीमतीले उजुरी नदिएको कारण बहुविवाहमा मुद्दा चल्ने सम्भावना पनि लगभग टरिसकेको छ।

झुटो विवरणको आधारमा कीर्ते गरी अरूको छोरीलाई आफ्नी छोरी बनाइ नागरिकता दिलाएको भन्दै सिंहविरूद्ध प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, गृह मन्त्रालयलगायतका नियकायमा उजुरी परेको थियो।

२०७५ साउन १३ गते रुबिना श्रेष्ठको नाममा नागरिकता जारी भएको जिल्ला प्रशासनको रेकर्डमा छ। नागरिकतामा बुबाको नाम राजेशमान सिंह लेखिए पनि आमाको नाम भने लेखिएको छैन।

छानबिन समितिलाई के भनेका थिए सिंहले?

नागरिकतासम्बन्धमा गृह मन्त्रालयबाट खटिएको टोलीले मेयर सिंहसँग एक दुई दिनअघि सोधपुछ गरेको थियो।

गृह मन्त्रालयका उपसचिव पुष्पकर रानाको संयोजकत्वमा खटिएको टोलीसमक्ष सिंहले आफ्नी दुईटा श्रीमती भएको र अर्काको छोरी भनिएकी रूबिना श्रेष्ठ आफ्नै छोरी भएको स्वीकारेका थिए।

उनले आफू रूबिनाको नक्कली बाबु नभइ सक्क्ली बाबु भएको बताएका थिए।

आफ्नो एउटा नभइ दुईटा श्रीमती भएको र रूबिना कान्छी श्रीमती रिता भट्टराईबाट जन्मेकी उनको भनाइ थियो।

गृह मन्त्रालयको टोलीसामु सिंहले रिता भट्टराई नाम गरेको आफ्नो कान्छी श्रीमती भए पनि त्यो कुरा गोप्य राखेको बताएका थिए।

वीरगञ्ज महानगरपालिका–३ छपकैया निवासी भूपेन्द्रमान सिंह र रुक्मिणी देवी श्रेष्ठको कान्छो छोराका रुपमा २०२७ सालमा जन्मिएका राजेशमान सिंहको एकमात्रै श्रीमती अन्नपुर्ण मानन्धर र उनीबाट एकमात्र छोरा अनिशमान श्रेष्ठको जन्म भएको भन्दै सिंहले भुटो विवरणका आधारमा रूबिनाको जन्म दर्ता र नागरिकता बनाएको भन्दै उजुरी परेको थियो।

 

 

Author

SHARINGS

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *