सुन तस्करी प्रकरण : महरासँग डेढ घन्टा बयान

काठमाडौं – सुन तस्करीबारे सत्यतथ्य पत्ता लगाउन गठित जाँचबुझ आयोगले पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरासँग बयान लिएको छ।

हङकङबाट नेपाल भित्रिएको तस्करीको सुन प्रकरणबारे आयोगले महरा र विध ल्याबका सञ्चालक भीमकान्त भण्डारीसँग बिहीबार बयान लिएको हो।

महरासँग आयोगले सिंहदरबारस्थित पुरानो गृहमन्त्रालयको भवनमा झन्डै डेढ घन्टा बयान लिएको थियो।

२०७९ पुस १० मा चीनबाट नेपाल आयात गरिएको विद्युतीय चुरोट (इलेक्ट्रिक सिगरेट (भेप)) भित्र लुकाएर ९ केजी सुन तस्करीमार्फत नेपाल भित्रिएको थियो।

गत साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्कुटरको ब्रेकसुभत्रि लुकाएर ल्याएको अवस्थामा ६० केजी तस्करीको सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो।

सरकारले यीलगयातका सुन तस्करी प्रकरणबारे सत्यतथ्य पत्ता लगाउन पूर्वन्यायाधीश डिल्लीराज आचार्यको संयोजकत्वमा जाँचबुझ आयोग गठन गरेको थियो।

यी दुवै तस्करीका योजनाकार चिनियाँ नागरिक दाओजिन वाङसँग महराको निरन्तर सम्पर्क देखिएपछि आयोगले बयान लिएको हो।

तस्करीको सुन बरामद भएपछि दाओजिन भने फरार छन्।

आयोगका सदस्य पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक सहकुल थापाले केही विषयमा बुझ्नुपर्ने देखिएपछि महरासँग सोधपुछ गरिएको जानकारी दिए।

ब्रेकसुमार्फत ६० केजी र भेपमार्फत ९ केजी सुन तस्करीबारे केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले अनुसन्धान गरेको थियो।

सिआइबीले दुवै प्रकरणमा चिनियाँ नागरिक दाओजिन वाङलाई प्रतिवादी बनाएर अनुसन्धान प्रतिवेदन बुझाइसकेको छ।

वाङ र लुई फुयानसँग निरन्तर सम्पर्कमा देखिएपछि पक्राउ परेका पूर्वसभामुख महराका छोरा राहुल पुर्पक्षका लागि थुनामा छन्।

यसैगरी आयोगले बिहीबार नै यो प्रकरणमा जोडिएका विध ल्याबका सञ्चालक भीमकान्त भण्डारीसँग पनि बयान लिएको छ।

तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङ पक्राउ परेपछि भण्डारी र दावाबीच पटकपटक कुराकानी भएको खुलेको थियो।

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *