DHKHABAR

All news at one place

अर्थव्यवस्था

विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च

काठमाडौं- चालु आर्थिक वर्ष २०८०÷८१ को अर्धवार्षिक समीक्षा अवधिमा अर्थतन्त्रको बाह्य क्षेत्रमा उल्लेख्य सुधार देखिएको छ।

नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्म एक वर्षको वस्तु तथा सेवाको आयात धान्नसक्ने विदेशी मुद्रा सञ्चिति रहेको छ।

गत असार मसान्तसम्म रू. १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ६ महिना अवधिमा १८ प्रतिशतले वृद्धि भइ पुस मसान्तसम्ममा रू.१९ खर्ब ५७ करोड पुगेको छ।

यो हालसम्मकै उच्च विदेशी मुद्रा सञ्चिति हो। योसँगै विदेशी मुद्राको सञ्चिति नेपालको वार्षिक बजेटको आकारभन्दा ठूलो देखिएको छ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति गत असार मसान्तमा रू. १३ खर्ब ४५ अर्ब ७८ करोड रहेकोमा पुस मसान्तमा १८.९ प्रतिशतले वृद्धि भइ रू.१६ खर्ब २३ करोड पुगेको छ।

राष्ट्र बैंकबाहेक बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति गत असार मसान्तमा रू.१ खर्ब ९३ अर्ब ५९ करोड रहेकोमा पुस मसान्तसम्म पुग्दा ११.८ प्रतिशतले वृद्धि भइ रू.२ खर्ब १६ अर्ब ३५ करोड कायम भएको छ।

गत पुस मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.५ प्रतिशत छ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १४.५ महिनाको वस्तु आयात र १२.१ महिनाको वस्तु तथा सेवा धान्न पर्याप्त देखिन्छ।

यो अवधिसम्ममा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आायत र विस्तृत मुद्राप्रदायसँगको अनुपात क्रमशः ३३.८, १००.९ र २७.७ प्रतिशत छन्।

चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा अवधिसम्म चालु खाता रू.१ खर्ब ६१ अर्ब ६२ करोडले बचतमा रहेको छ।

अघिल्लो वर्ष सोही अवधिमा चालु खाता रू. ३५ अर्ब ५७ करोडले घाटामा थियो।

 

 

Author

SHARINGS

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *