नेपाली कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान स्थगित

काठमाडौं- नेपाली कांग्रेसले सुरू गरेको ‘समुदायमा कांग्रेस’ अभियान स्थगित भएको छ।

केन्द्रीय सदस्य एवं पूर्वमन्त्री केशवकुमार बुढाथोकीको निधनका कारण कांग्रेसले अभियानलाई स्थगित गरेको हो।

अभियानकै क्रममा भैरहवा पुगेका महामन्त्री गगन थापाले नेता बुढोथोकीको निधन भएका कारण तत्कालका लागि अभियान स्थगित भएको जानकारी दिए।

केन्द्रीय सदस्यको निधन हुँदा एक दिन पार्टीको झन्डा झुकाउने र तीन दिनसम्म शोक मनाइ कुनै पनि कार्यक्रम नगर्ने परम्पराअनुसार ‘समुदायमा कांग्रेस’ अभियान तत्कालका लागि स्थगित भएको थापाले जानकारी दिए।

नेता बुढाथोकीको उपचारका क्रममा सोमबार राति विराट अस्पतालमा निधन भएको हो।

महामन्त्री थापाले फागुन ७ देखि सुरू हुनलागेको महासमिति बैठकपछि मिति निर्धारण गरेर पुनः अभियानलाई निरन्तरता दिइने बताए।

‘अहिले १० बजे केन्द्रीय समितिको बैठक बस्दैछ, बैठकले नेता बुढाथोकीको निधनप्रति शोक व्यक्त गर्दै तीन दिनसम्म शोक मनाउने निर्णय हुँदैछ। तत्कालका लागि सबै कार्यक्रम स्थगित गर्ने सल्लाह भएको छ’ उनले भने।

महासमिति बैठकअघि माघ २७ र २८ गते केन्द्रीय समिति बैठक बस्ने भएकाले पनि तत्कालका लागि कार्यक्रम स्थगित गर्नुपर्ने अवस्था आएको थापाले बताए।

‘महासमितिको बैठक सकिएलगत्तै फागुन महिनाभित्रै सम्पन्न हुने गरी अर्को मिति निर्धारण गर्नेछौं। त्यसपछि अभियानका कार्यक्रमहरू पुनः सञ्चालन हुनेछ,’ उनले भने।

महामन्त्री थापाले रोकिएकै ठाउँबाट पुनः नेताहरू खटिने गरी ‘समुदायमा कांग्रेस’ अभियान सुरू हुने जानकारी दिए।

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *