संसदीय समितिद्वारा भन्सार कार्यालय पुगेर सुझाव संकलन

जनकपुरधाम- प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले भन्सार कार्यालयहरू पुगेर सुझाव संकलन गरिरहेको छ। सरकारले भन्सारसम्बन्धी कानुन निर्माणको तयारी गरिरहँदा समितिका सदस्यहरू भन्सार कार्यालय पुगेर सुझाव संकलन गरेको हो।

यही क्रममा समितिले मंगलबार महोत्तरीको जलेश्वर भन्सार कार्यालय पुगेर त्यहाँका कर्मचारीहरूसँग सुझाव संकलन गरेको छ।

समितिका सदस्य नारायणी शर्माको नेतृत्वमा पुगेको टोलीले भन्सार कार्यालयका कर्मचारीका साथै सरोकारवालाहरूसँग छलफल गरेको हो।

छलफलमा भन्सारमा देखिएका समस्या, सोको समाधानलगायतका विषयमा कुराकानी भएको शर्माले जानकारी दिइन्।

उनले भन्सार कार्यालयमा स्थानीय तहका जनप्रतिनिधिहरूले दिने गरेको दबाब, भन्सारहुँदै तेस्रो मुलुकबाट सामान आयात गर्दा हुने समस्यालगायतका विषय उठान भएको बताइन्।

भन्सारका कर्मचारी र सरोकारवालाहरूसँगको छलफलका क्रममा आएका सुझावहरू भन्सार कानुन निर्माण हुँदा सकभर समावेश गरिने उनको भनाइ छ।

वीरगन्ज भन्सारको अनुमगमनपछि समितिको टोली काठमाडौँ फर्कने छ।

समिति सदस्य शर्मा नेतृत्वको टोलीमा प्रतिनिधिसभाका सदस्यहरू सूर्यबहादुर थापा, अम्मरबहादुर रायमाझी, गंगा कार्की, छिरिङ डुम्बुल लामा, जुलीकुमारी महतो, नारायणप्रसाद आचार्य, रणकुमारी बलम्पाकी मगर, मुक्ता यादवलगायत छन्।

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *