मधेसका पूर्वअर्थमन्त्री भ्रष्टाचार मुद्दामा दोषी ठहर

जनकपुरधाम- मधेस प्रदेसका पूर्वअर्थमन्त्री विजयकुमार यादवसहित ६ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्।

विशेष अदालतले सर्लाहीस्थित झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको रकम हिनामिना गरेको अभियोगमा तत्कालीन अर्थमन्त्री यादवसहित ५ जनालाई दोषी ठहर गरेको हो।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यद्वय तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले उनीहरूलाई दोषी ठहर गरेको हो।

विशेषले तत्कालीन अर्थमन्त्री यादवका साथै रेवतीप्रसाद पन्त, नवराज भण्डारी, निरज भण्डारी र देवेन्द्र रायलाई दोषी ठहर गरेको हो।

तत्कालीन अर्थमन्त्री यादवले रू. १७ करोड ९८ लाख ३३ हजार सरकारको रकम हिनामिना गरी भ्रष्टाचार गरेको विशेषको फैसलामा उल्लेख छ।

लेखा उत्तरदायी अधिकृतले गर्ने भनी लेखिएको कार्यसमेत आफैंले गरी नपाएको अधिकार र हैसियत प्रयोग गरेको देखिँदा भ्रष्टाचार निवारण ऐनको दफा १५ समेतको कसुर गरेको यादवको हकमा विशेषले ठहर गरेको छ।

त्यस्तै प्रतिवादीहरू पन्त, नवराज, निरज र रायको हकमा मतियारको रूपमा काम गरी सुविधालाभ लिएको देखिएकोले विशेषले उनीहरूलाई पनि दोषी ठहर गरेको छ।

विशेषले यो मुद्दाका दुई जना प्रतिवादीहरू लालबन्दी नगरपालिकाका तत्कालीन प्रमुख मानबहादुर खडका र आर्थिक मामिला मन्त्रालयका सचिव प्रेमकुमार श्रेष्ठलाई भने सफाइ दिएको छ।

दोषी ठहर भएका तत्कालीनमन्त्री यादव र मतियार ठहर भएका प्रतिवादीहरूलाई सजाय तोक्न २५ असारमा पेसी तोकिएको छ।

नेपाल सरकारबाट जुन प्रयोजनका लागि लिएको रकम त्यसमा काम नगरी अन्यत्रै लगानी गरेर हिनामिना गरेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गत वर्ष असोज २१ गते उनीहरूविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *