जनकपुरधाम- जनकपुरधाम उपमहानगरपालिकाले तोकिएको समयभित्र नगरसभा गर्न नसकेपछि अनुदान कटौती हुने सम्भावना बढेको छ।
असार १० गतेभित्र नगरसभा गर्न नसकेपछि प्रदेस राजधानीसमेत रहेको जनकपुरधाम उपमहानगरले सरकारका तर्फबाट प्राप्त गर्ने अनुदान कटौती हुने सम्भावना बढेको हो।
स्थानीय तह सञ्चालन ऐनअनुसार असार १० गतेभित्र नगरसभामार्फत नीति तथा कार्यक्रम र बजेट ल्याउनैपर्ने हुन्छ। त्यस्तै नगरसभामार्फत आएको बजेट असारभित्रै पास गर्नुपर्ने प्रावधान छ।
असार १० भित्र नीति कार्यक्रम र बजेट ल्याउन नसकेपछि जनकपुरधाम उपमहानगरपालिकाको ‘स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिसा)’ मा अंक कटौती हुने भएको छ।
तोकिएको समयभित्र नगरसभा सम्पन्न गरेर बजेट पास गराउन नसक्ने स्थानीय तहको तीन प्रतिशत अंक कटौती हुने प्रावधान छ।
र, मापदण्ड भएसँगै संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने अनुदानसमेत कटौती हुने व्यवस्था छ।
धनुषाका एक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतका अनुसार ‘लिसा’ मा अंक घटेसँगै संघ तथा प्रदेश सरकारबाट प्राप्त हुने अनुदानसमेत कटौती हुने व्यवस्था छ।
‘स्थानीय तहले गरेको फरफर्मेन्सका आधारमा ‘लिसा’ मा अंक दिने व्यवस्था छ। असार १० भित्र नगरसभा गर्न नसकेको खन्डमा ३ प्रतिशत अंक कटौती हुन्छ,’ उनले भने,‘यो अंक कटौती भएसँगै अनुदानसमेत कटौती हुने गरेको छ।’
स्वदेशी तथा विदेशी दातृ निकायले पनि ‘लिसा’ कै आधारमा स्थानीय तहहरूलाई अनुदान उपलब्ध गराउने गरेको ती प्रमुख प्रशासकीय अधिकृतले बताए।
‘लिसा’ मा अंक कटौती भएपछि दातृ निकायहरूका तर्फबाट प्राप्त हुने अनुदान पाउने सम्भावना पनि घटेर जाने उनको भनाइ छ।
किन हुनसकेन नगरसभा
जनकपुरधाम उपमहानगरले १० असारमै नगरसभा गरेर नीति तथा कार्यक्रम र आगामी आर्थिक वर्षका लागि बजेट ल्याउने तयारी गरेको थियो।
३० जेठमा बसेको नगर कार्यपालिकाको बैठकले १० असारमा नगरसभा गर्ने निर्णय गरेको थियो
यही निर्णयअनुसार प्रमुख प्रशासकीय अधिकृत सत्यनारायण साहले २ असारमा नगरसभाका सम्पूर्ण सदस्यहरूले १० असारमा १२ औं नगरसभा हुने भनेर पत्र पठाएका थिए।
‘…२०८१/२/३० गते बसेको बैठकको निर्णअनुसार यस जनकपुरधाम उपमहानगरपालिकाको १२ औं नगरसभा नगर प्रमुखज्यूको अध्यक्षतामा तपसिलबमोजिमको मिति, समय र स्थानमा हुने गरी निर्णय भएको हुँदा यहाँको अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध छ,’ नगरसभा सदस्यहरूलाई पठाइएको पत्रमा भनिएको थियो।
नगरसभाअघि उपमहानगरले फेरि कार्यपालिका बैठक बोलायो।
वडाध्यक्ष र कार्यपालिका सदस्यहरूसँग नीति तथा कार्यक्रमबारे छलफल गर्न उपमहानगरले ७ असारमा कार्यपालिका बैठक बोलाएको थियो।
तर, त्यो कार्यपालिका बैठक वडाध्यक्ष तथा बोर्डका सदस्यहरूले बहिष्कार गरिदिए। कार्यपालिका बैठक बहिष्कार गर्नेहरूमा अधिकांश नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष र कार्यपालिका सदस्यहरू थिए।
कांग्रेसबाट निर्वाचित वडाध्यक्ष र बोर्ड सदस्यहरूले नगरप्रमुख मनोज साह छलफल नै नगरी एकलौटी ढंगबाट नीति तथा कार्यक्रम र बजेट ल्याउन खोजेपछि नगरसभा बहिष्कार गर्ने बाध्यता आइपरेको बताएका छन्।
कांग्रेसबाटै निर्वाचित वडा नम्बर ११ का वडाध्यक्ष अर्जुन चौधरीले सामजिक सञ्जालमार्फत नै नगरप्रमुख साहको कार्यशैलीप्रति असन्तुष्टि पोखेका छन्।
एक दिनमा बजेट नगरे बन्डामा हालिदिने भनेर वडा कार्यालयमा पठाइएको पत्रप्रति उनले असन्तुष्टि जनाएका हुन्।
सामाजिक सञ्जालमा चौधरीले लेखेका छन्,‘…हाम्रो मेयरजीलाई नगरपालिकाको ऐन र कानुन एकचोटी पढ्नुप¥यो। नगरसभा कसरी हुन्छ र बोर्डको बैठक कसरी हुन्छ जानकारी लिनुस्। एक दिनमा बजेट पेस गर्नुस् अन्यथा बन्डामा हालिदिन्छु भनी पत्र वडामा पठाउनु यो के हो मेयर साहब। ल म बैठकमा पनि जाँदिन बजेट पनि पेस गर्दिनँ। कुनै पनि वडाको पैसा बन्डामा राखेर देखाउनुस्।’
वडाध्यक्षहरूका साथै नगर सदस्यहरूले पनि उपमहानगरका प्रमुख, उनको सचिवालय र कर्मचारीहरूको कार्यशैलीप्रति असन्तुष्ट देखिएका छन्।
८ असारमा गोपालधर्मशालामा बसेको कार्यपालिका सदस्यहरूको बैठकले असन्तुष्टि जनाउँदै विभिन्न मागहरू अघि सार्ने निर्णय गरेको छ।
कार्यपालिका सदस्यहरूको बैठकले कार्यसम्पन्न भइसकेका योजनाहरूको समयमै भुक्तानी दिन माग गरेका छन्।
उनीहरूका अनुसार आर्थिक वर्ष २०७९÷८० मै सम्पन्न भइसकेका कतिपय योजनाहरूको भुक्तानी अझै हुनसकेको छैन।
कार्यपालिका सदस्यहरूको बैठकले प्रमुख साहको सचिवालयमा कार्यरत मनोज महतोलाई कारबाही गर्न पनि माग गरेको छ।
यसका साथै प्रमुख प्रशासकीय अधिकृत, लेखा अधिकृत तथा योजना प्रमुखको व्यवहार राम्रो नभएको उनीहरूको भनाइ छ।
वडाध्यक्ष र कार्यपालिका सदस्यहरू नै विरोधमा उत्रिएपछि १० असारमा बोलाइएको उपमहानगरको नगरसभा अनिश्चितकालका लागि स्थगित भएको छ।
वडा कार्यालयहरूमा उपमहानगरले पठाएको पत्रमा ‘२०८१ असार १० गते बस्ने भनिएको नगरसभा विशेष कारणले स्थगित हुन गएकोले अर्को सूचना प्रकाशित नहुन्जेलसम्मका लागि स्थगित गरिएको व्यहोरा जानकारीका लागि अनुरोध गरिन्छ।’
Leave a Reply