घुम्टोबाट उघ्रिएको ‘मिथिला पेन्टिङ’

जनकपुरधाम- मधुमाला मण्डल अहिले दिनभर मिथिला चित्रकला बनाउन व्यस्त हुन्छिन्। जनकपुरधाम–१२ कुवाकी मधुमाला उनको घरनजिकै रहेको नारी विकास केन्द्र पुगेर हरेक दिन मिथिला चित्रहरुमा रङ्ग भरिरेहकी हुन्छिन्।

मधुमालामात्रै होइन उनी जस्तै अरू महिलाहरूलाई पनि त्यहाँ मिथिला सभ्यतालाई झल्काउने चित्र कोर्न र रङ्ग भर्न भ्याइ नभ्याइ हुन्छ।

२५ वर्षदेखि निरन्तर काम गर्दै आइरहेकी मधुमाला अहिले मिथिला पेन्टिङमा पोख्त भइसकेकी छिन्।

बाल्यकालदेखि नै मिथिला पेन्टिङ ‘क्यानभ्यास’ मा उतार्ने रहर थियो, उनलाई। बाल्यकालको त्यही रहरले पेन्टिङ गर्ने मधुमालाको चाहनालाई सामाजिक तथा पारिवारिक परिवेशले छेक्न सकेन।

कुनै बेला मिथिला पेन्टिङ गर्ने सपना हेरेकी उनले आफ्नो कलालाई अहिले व्यवसायीक रूप दिन सफल भइसकेकी छिन्।

मिथिला पेन्टिङ गर्न कम कठिनाइको सामना गर्न परेन, मधुमालालाई।

विहेपश्चात ससुरा आइसकेपछि बाहिर गएर पेन्टिङ गर्न जाने सासुको अनुमति थिएन्।

तर मिथिला पेन्टिङ गर्ने मधुमालाको बच्चैदेखिकै चाहना र ‘जुनुन’ लाई भने उनका पतिले थाहा पाइसकेका थिए।

मधुमाला बाहिर नजाओस् भन्ने सासुको अडानका बाबजुद श्रीमान्ले भने उत्साह थपे। श्रीमानको सहयोग र उत्साह पाएर मिथिला पेन्टिङमा माहिर भइसकेकी छिन्, मधुमाला अहिले।

गाउँको छिमेकीहरुको घरमा विहेबारी हुँदा घरको भित्तामा अरूले चित्र कोरेको देखेपछि त्यस्तै चित्र कोर्न रहर हुन्थ्यो मधुमालालाई।

र, त्यहिँबाट सानैछँदा पेन्टिङगर्ने चाहना जागेको मुधमाला बताउँछिन्।

बच्चामा चित्रकोर्ने, रङ्गभर्ने काम गरेपनि मिथिला चित्रकलाबारे उनलाई खासै जानकारी थिएन।

बच्चादेखि नै चित्रकोर्ने र रङ्ग भरेर आफूले मिथिला पेन्टिङ गरिरहेको उनले नारी विकास केन्द्र पुगेरमात्रै थाहा पाइन।

विहे गरेर जनकपुरको कुवा आइसकेपछि घरनजिकै रहेको नारी विकास केन्द्रमा मिथिला पेन्टिङको काम हुने गरेको थाहपाएपछि त्यहाँ गएर सिक्ने र काम गर्ने रहर जाग्यो, उनलाई।

तर भख्खर विहेगरेर ससुराली आएकी मधमालाकी सासुले त्यहाँ जान अनुमति दिइनन्।

पेन्टिङका लागि घरबाहिर निस्कन सामाजिक ‘बन्देज’ थियो, उनीमाथि। नयाँ बुहारी घरमै बस्नुपर्ने त्यो पनि घुम्टोभित्रै। घुम्टो उघारेर घरबाहिर निस्कने अनुमति नै थिएन, उनलाई।

पछि श्रीमानको साथ र सहयोगले मधुमालालाई नारी विकास केन्द्रसम्म अवसर जु¥यो।

श्रीमानको सहयोगपछि पेन्टिङ गर्न अनुमति पाए पनि घुम्टो ओढेरमात्र बाहिर निस्कन पाइन्थ्यो मधुमाला सम्झिन्छन।

‘घरबाट बाहिर निस्कने अनुमति थिएन। सासुले मात्रु भएको थिएन। तर पछि मानेपनि घुम्टो अनिवार्य थियो,’ उनी भन्छिन्।

सुरूमा केही वर्ष घुम्टो ओढेर पेन्टिङ गरेको सम्झिँदै अब परिवार र समाजबाट यो कामका लागि कुनै समस्या नभएको उनी बताइन्।

नारी विकास केन्द्रभित्र मात्र होइन काठमाण्डौं, पोखरा, भैरहवा, निजगढसम्म पुगेर मिथिला पेन्टिङ गरेकी छिन्, उनले।

मिथिला चित्रकलाप्रतिको माग र आकर्षण बढ्दै गएपछि जनकपुरबाहिरका विभित्र कार्यालयहरू पुगेर पनि पेन्टिङ गरेको उनले सुनाइन्।

मधुमालाले तयार पारेको मिथिला पेन्टिङ अहिले काठमाडांैं, पोखरालगायतका ठाउँहरुमा बिक्री भइरहेको छ।

मधुमालाजस्तै नारी विकास केन्द्रमा तयार भएको मिथिला पेन्टिङहरू नेपालका विभित्र स्थानका साथै अमेरिका, कोरिया, जापानजस्ता देशहरुमा समेत बिक्रिका लागि पुग्ने गरेको उनले बताइन्।

मिथिला पेन्टिङ तयारपार्न धेरै समय र मिहिनेत लाग्ने गरेको मधुमाला बताउँछिन्।

‘मसिनो काम हुन्छ। चित्र कोरेर त्यसमा रङ्ग भर्न धेरै मिहिनेत र समय लाग्छ,’ उनले भनिन्,‘मिहिनेतअनुसारको पारिश्रमिक पाउन सकिएको छैन।’

मिथिला पेन्टिङलाई प्रोत्साहितगर्न राज्यस्तरबाट खासै काम हुन नसकेको मधुमालाजस्तै धेरैको गुनासो छ।

अन्य कामझैं सरकारले मिथिला पेन्टिङलाई संस्थागत रुपमा विकास गरे धेरैका लागि रोजगार र व्यवसाय गर्ने माध्यम हुन सक्ने उनको भनाइ छ।

पछिल्ला दिनहरुमा मधुमालाझैं अन्य महिलाहरुले मिथिला पेन्टिङलाई व्यवसायिक रूपमा अगाडि बढाउँदै आएका छन्।

कुनै समय तथाकथित उपल्लो जातिको मात्रै कला रहेको भत्रे गरिएको मिथिला चित्रकलाले व्यापकता व्यवसायिकता हासिल गरेसँगैै अन्य समुदायको समेत सहभागिता बढ्न थालेको छ।

विगतमा घरआँगनसम्म मात्र सीमित रहेको मिथिला चित्रकला अहिले व्यवसायीक रूपमा फस्टाउन थालेको छ। मिथिला चित्रकलालाई व्यवसाय बनाएका कतिपयको घरखर्च चल्दै आइरहेको छ।

जनकपुर छेउछाउका ग्रामीण क्षेत्रहरुमा लुकेर बसेको यस कलालाई सन् १९८९ मा क्लेवर वर्केट नामकी विदेशी महिलाले पहिचान गरी मिथिला आर्टको नाम दिएकी थिइन्।

वर्केटले आफ्नो एक प्रयासले विभित्र दातृ राष्ट्रहरुसँग सहयोग लिइ जनकपुरमा नारी विकास केन्द्रको स्थापना गरिन्।

उनले स्थापना गरेको नारी विकास केन्द्र अहिले मिथिला चित्रकलाको केन्द्रको रूपमा स्थापित भएको छ।

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *