जनकपुरधाम- मुस्लिम धर्मावलम्बीको दोस्रो महान पर्व बकर–ईद (इदुल जोहा) आज मनाइँदै छ।
इदुल फित्र अर्थात रमजान पर्वको ७० औं दिनमा बकर–ईद मनाउने गरिन्छ।
मुस्लिम धर्मावलम्बी यस अवसरमा बिहानै स्नान गरी नजिकको मस्जिद पुगेर सामूहिक नमाज पढ्ने गर्छन्।
नमाज पढिसकेपछि एकआपसमा शुभकामना आदानप्रदान गर्ने चलन छ।
बकर–ईदको अवसरमा नमाज पढ्न बिहानैदेखि मस्जिदहरूमा घुइँचो लागेको छ।
यस पर्वको अवसरमा मक्का मदिना जान शुभ मानिन्छ। मक्का मदिना जान गृह मन्त्रालयले आतेजाते विमान टिकटको व्यवस्था गरी हजयात्रा गराउने गरेको छ।
यो पर्वको मुख्य उद्देश्य नै हजयात्रा हो। यस पर्वमा अल्लाहलाई खुसी पार्न मुस्लिम समुदायले धर्मले जायज मानेका जनावरलाई कुर्बानी (बली) दिन्छन्।
बकर–ईदको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ।
Leave a Reply