जनकपुरधाम- जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नेकपा माओवादी केन्द्र ढुलमुले र अवसरवादी चरित्र बोकेको पार्टी रहेको टिप्पणी गरेका छन्।
जनकपुरधाममा जारी पार्टीको महाधिवेशनको बन्दसत्रमा मंगलबार राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै उनले चिन्तन र व्यवहारमा माक्र्सवादी–लेलिनवादी नभइ ढुलमुले, अवरवादी चरित्र हावी रहेको पार्टी बताएका हुन्।
माओवादी केन्द्र सैद्धान्तिक रूपमा आफूलाई कम्युनिस्ट भनेता पनि राजनीतिक रूपमा नेकपा एमालेभन्दा खासै भिन्न नरहेको उनको भनाइ छ।
अध्यक्ष यादवले सर्वहारा श्रमिक वर्गको अग्रसरता भने पनि माओवाी बिस्तारै उदारवादी लोकतान्त्रिक संसदीय प्रणालीलाई नै व्यवहारमा उतारेको जिकिर गरेका छन्।
संसदीय निर्वाचनमा आफ्नो स्थिति अत्यन्त कमजोर हुने देखेर बाध्यभइ नेकपा एमालेसँग मिलेर चुनाव लडेको उनले राजनीतिक प्रतिवेदनमा उल्लेख गरेका छन्।
दुवै पार्टी मिलेर नेकपा बनाए पनि सत्ता स्वार्थका कारण एकता टिक्न नसकेको उनको भनाइ छ।
अध्यक्ष यादवले केही दिनअघिमात्र आफ्नो पार्टी विभाजन गराउन माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले खेलेको भूमिकाबारे राजनीतिक प्रतिवेदनमा केही उल्लेख गरेका छैनन्।
प्रधानमन्त्री प्रचण्डले सिन्धुलीको एक कार्यक्रममा जसपा नेपाललाई आफूले विभाजन गराएको सार्वजनिक रूपमै बताएका थिए।
Leave a Reply