तेस्रो कार्यकालका लागि मोदीले लिए सपथ

जनकपुरधाम- भारतीय जनता पार्टी (भाजपा) का नेता नरेन्द्र मोदीले तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीको सपथग्रहण गरेका छन्।

राष्ट्रपति द्रौपदी मुर्मूले राष्ट्रपति भवनमा आयोजित एक समारोहका बीच मोदीलाई पद तथा गोपनीयताको सपथ दिलाएकी हुन्।

मोदी सन् २०१४ मा पहिलोपटक र सन् २०१९ मा दोस्रोपटक भारतका प्रधानमन्त्रीमा निर्वाचित भएका थिए।

कांग्रेस नेता जवाहरलाल नेहरूपछि लगातार तेस्रो कार्यकालका लागि प्रधानमन्त्री नियुक्त हुने मोदी भारतका पहिलो नेता हुन्।

राजधानी दिल्लीस्थित राष्ट्रपति भवनको प्राङ्गणमा आयोजित सपथग्रहण समारोहमा नेपाल, बंगलादेश, श्रीलंका, भुटान, सेशेल्स, मरिसस र माल्दिभ्सका सरकार तथा राष्ट्रप्रमुखहरू सहभागी थिए।

मोदीको हिन्दू राष्ट्रवादी दल भाजपाले आमनिर्वाचनमा एक्लै सरकार बनाउन आवश्यक पर्ने बहुमत नल्याएपछि उनले गठबन्धनका सरकारको नेतृत्व सम्हालेका हुन्।

इन्डियन डेमोक्रेटिक एलायन्स (एनडिए) का नेतासमेत रहेका मोदीलाई जनता दल युनाइटेड (जदयू), तेलगु देशम पार्टी (टिडिपी) लगायतका दलले समर्थन जनाएका छन्।

हजारौं मानिसहरू सहभागी सपथग्रहण समारोहलाई मध्यनजर गर्दै दिल्लीको सुरक्षा व्यवस्था कडा पारिएको थियो।

प्रहरीले राजधानीमा विभिन्नखाले उडानमा प्रतिबन्ध लगाउँदै ‘नो फ्लाई जोन’ घोषणा गरेको छ भने धेरैतिर सार्वजनिक सवारीसाधनको आउजाउमा समेत रोक लगाइएको छ।

मोदीको अघिल्लो मन्त्रिपरिषदमा समावेश भएका २० जना मन्त्रीहरू यसपटक चुनावमा पराजित भएकाले भाजपाबाटै सरकारमा सहभागी हुने नयाँ अनुहारलाई लिएर धेरैको चासो पाइन्छ।

यद्यपि मोदीको अघिल्लो कार्यकालका गृहमन्त्री अमित शाह, रक्षामन्त्री राजनाथ सिंह, अर्थमन्त्री निर्मला सीतारमण, विदेशमन्त्री एस जयंशकरलगायतका अनुहारहरू भने संघीय मन्त्रीका रूपमा दोहोरिँदै सपथ लिएका छन्।

३० मन्त्रीले लिए सपथ

मोदीले सपथग्रहण गरिसकेपछि राजनाथ सिंहले क्याबिनेटमन्त्रीका रूपमा सपथ लिए।

अघिल्लो सरकारमा उनी रक्षामन्त्री थिए। सन् २०१४ मा भाजपाको सरकार बनेपछि सिंह गृहमन्त्री बनेका थिए। उनी लखनऊबाट लोकसभा सदस्यमा निर्वाचित भएका छन्।

त्यस्तै अमित शाहले तेस्रो नम्बरमा मन्त्री पदको सपथ लिए। अघिल्लो सरकारमा उनले केन्द्रीय गृहमन्त्रीको पद सम्हालेका थिए।

शाह गुजरातको गान्धीनगर सिटबाट दोस्रोपटक सांसद निर्वाचित भएका हुन्।

नितिन गडकरीले चौथों नम्बरमा सपथ लिए। उनले पनि क्याबिनेटमन्त्रीका रूपमा सपथ लिएका हुन्।

अघिल्लो सरकारमा उनी सडकमन्त्री थिए। गडकरी महाराष्ट्रको नागपुरबाट सांसद निर्वाचित भएका छन्।

भाजपा अध्यक्ष जेपी नड्डाले पनि क्याबिनेटमन्त्रीको सपथ लिएका छन्। उनी अहिले राज्यसभा सांसद छन्।

मध्य प्रदेसका पूर्वमुख्यमन्त्री शिवराज सिंह चौहानले क्याबिनेटमन्त्रीका रूपमा सपथ लिएका छन्। उनी मध्य प्रदेसको विदिसा लोकसभा सिटबाट सांसद निर्वाचित भएका हुन्।

निर्मला सीतारमणले पनि क्याबिनेटमन्त्रीका रूपमा सपथ लिएकी छन्। अघिल्लो सरकारमा उनी वित्त मन्त्रालय सम्हालेकी थिइन्।

रक्षामन्त्रीसमेत भइसकेकी उनी हाल राज्यसभा सांसद छिन्।

हरियाणाका पूर्वमुख्यमन्त्री मनोहरलाल खट्टरले पनि क्याबिनेटमन्त्रीका रूपमा सपथ लिएका छन्। उनी पहिलोपटक क्याबिनेटमन्त्री बनेका हुन्। खट्टरले गत मार्चमा हरियाणाको मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए।

उनी हरियाणाको करनाल लोकसभा सिटबाट सांसद निर्वाचित भएका हुन्।

त्यस्तै बिहारका पूर्वमुख्यमन्त्री एवं हिन्दुस्तान अवाम मोर्चाका प्रमुख जितनराम माँझीले पनि क्याबिनेटमन्त्रीका रूपमा सपथ लिएका छन्।

माँझी पनि पहिलोपटक क्याबिनेटमन्त्री बनेका हुन्। उनी गया लोकसभा सिटबाट सांसद निर्वाचित भएका छन्।

बिहारका मुख्यमन्त्री नितिश कुमार नेतृत्वको जदयूबाट राजीव रञ्जन (ललन सिंह) पनि क्याबिनेटमन्त्रीको सपथ लिएका छन्। उनी बिहारको मुंगेर लोकसभा सिटबाट सांसद निर्वाचित भएका हुन्।

त्यस्तै बिहारकै बेगुसराय सिटबाट लोकसभा सदस्य निर्वाचित भएका गिरिराज सिंहले पनि क्याबिनेटमन्त्रीको सपथ लिएका छन्।

उनी मोदी नेतृत्वको दुवै सरकारमा मन्त्री भइसकेका छन्।

लोक जनशक्ति पार्टी (रामविलास) का चिराग पासवानले पनि क्याबिनेटमन्त्रीका रूपमा सपथ लिएका छन्।

उनी पहिलोपटक केन्द्र सरकारमा मन्त्री बनेका हुन्। चिराग बिहारको हाजीपुर लोकसभा सिटबाट सांसदमा निर्वाचित भएका हुन्।

बिहारबाट पाँच लोकसभा सिटमा उम्मेदवार खडा गरेको यो पार्टीले सबै सिटमा जित हासिल गरेको छ।

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *