काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ।
लोकसभा निर्वाचनको परिणाम सार्वजनिक भएसँगै प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी मोदीलाई फोन गरेर सफलतापूर्वक निर्वाचन सम्पन्न भएकोमा शुभकामना व्यक्त गरेका हुन्।
टेलिफोन वार्तामा दुवै नेताबीच आपसी हित र साझा चासोका विविध विषयमा संक्षिप्त कुराकानी भएको काठमाडौंस्थित भारतीय राजदूतावासले जनाएको छ।
भारतमा अब गठन हुने सरकारसँग दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ तुल्याउन साझेदारी एवं सहकार्यका लागि आफू तत्पर रहेको प्रचण्डले बताएका थिए।
प्रधानमन्त्री मोदीले आफ्ना नेपाली समकक्षीसँग कुरा गर्न पाउँदा खुसी लागेको बताए।
भारत र नेपालबीचको गहिरो र बहुआयामिक साझेदारीलाई सुदृढ गर्ने आफ्नो साझा प्रतिवद्धतामाथि जोड दिँदै सम्बन्धमा सकारात्मक गति कायम राख्ने कुरामा सहमत भएको प्रधानमन्त्री मोदीको भनाइ उद्धृत गर्दै भारतीय राजदूतावासले जनाएको छ।
Leave a Reply