विपक्षी दलको बैठकमा नेपाल, मधेसमा वैकल्पिक गठबन्धन बनाउने पहल

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारुढ नेकपा(एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसहित विपक्षी जसपा (नेपाल) र लोसपाका नेताहरूसँग छलफल गरेका छन्।

देउवाले बुधबार बूढानीलकण्ठस्थित आफ्नो निजी निवासमा एकीकृत समाजवादीका अध्यक्ष नेपाल जसपा (नेपाल) का अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्थ ठाकुरलगायतका नेताहरूसँग छलफल गरेका हुन्।

छलफलका लागि नेपाल, यादव र ठाकुर पार्टीका अन्य नेतासहित छलफलका लागि बूढानीलकण्ठस्थित कांग्रेस सभापति देउवाको निवास पुगेका थिए।

मधेस प्रदेसका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने तयारी गरिरहेका बेला सभापति देउवाले एकीकृत समाजवादीका अध्यक्ष नेपाल, जसपा अध्यक्ष यादव र लोसपा अध्यक्ष ठाकुरसँग छलफल गरेका हुन्।

भेटघाटको क्रममा मधेस प्रदेसमा वैकल्पिक गठबन्धनको सरकार बनाउनेसहित समसामयिक विषयहरूमा छलफल भएका लोसपाका वरिष्ठन नेता शरतसिंह भण्डारीले जानकारी दिए।

उनले भने,‘मधेसमा वैकल्पिक गठबन्धनको कुरा छ। यसबाहेक अहिलेको सम्पूर्ण राजनीतिक घटनाक्रमका विषयमा छलफल गरेका छौं। छलफललाई अझै निरन्तरता दिने कुरा भएको छ।’

भण्डारीका अनुसार छलफलमा सहकारी ठगी प्रकरणका विषयमा समेत कुराकानी भएको छ।

केन्द्रमा सत्ता गठबन्धन फेरिएपछि मधेस प्रदेसमा एमाले र माओवादी सरकारबाट बाहिरिएसँगै मुख्यमन्त्री यादव अल्पमतमा छन्।

उनले आगामी २३ गते विश्वासको मत लिने तयारी गरेका छन्।

जसपाले आफ्नो पार्टी नेतृत्वको सरकारलाई निरन्तरता दिन चाहेका छन। र, यसका लागि उनले कांग्रेस, लोसपा, एकीकृत समाजवादीको साथ खोजिरहेका छन्।

मधेस प्रदेससभामा कांग्रेसका २२, जसपा नेपालका १९, एकीकृत समाजवादी ७ र लोसपाका ८ सांसद छन्।

१०७ सदस्यीय प्रदेससभामा बहुमतका लागि ५४ सांसदको समर्थन आवश्यक हुन्छ। कांग्रेस, जसपा, एकीकृत समाजवाद िर लोसपा एकै ठाउँमा उभिए वैकल्पिक गठबन्धन बन्न सक्ने सम्भावना देखिएको छ।

एकीकृत समाजवादी केन्द्रमा सत्ता गठबन्धनमा सामेल भएका कारण मधेस प्रदेसमा वैकल्पिक गठबन्धनमा जाने सम्भावना नरहेको एमालेको भनाइ छ।

एमाले मधेस प्रदेस संसदीय दलका नेता सरोज यादव मुख्यमन्त्रीले विश्वासको मत नपाउने दाबी गरे।

‘उहाँले २३ गते विश्वासको मत लिने तयारी गर्नुभएको छ। तर, मुख्यमन्त्रीले विश्वासको मत पाउनु हुन्न। त्यसपछि हामीले सरकार बनाउँछौं,’ उनले भने।

कांग्रेस, जसपालगायतका दलले एकीकृत समाजवादीको मत गणना गरिरहे पनि उसले साथ नदिने यादवको भनाइ छ।

‘उहाँहरूले एकीकृत समाजवादीको मत पनि गणना गरिरहनुभएको छ। तर, त्यो सम्भव छैन,’ उनले थपे,‘केन्द्रमा सत्ता गठबन्धनमा भएको दल मधेसमा अन्य गठबन्धनमा जान असम्भव छ।’

एकीकृत समाजवादीका अध्यक्ष नेपालले भने मधेस प्रदेसमा जसपा नेपाल नेतृत्वकै सरकारलाई निरन्तरता दिने संकेत गरेका छन्।

केही दिनअघि जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो संकेत गरेका थिए।

‘मधेसमा उपेन्द्रजीसँगै मिलेर जाने कुरा छ,’ पत्रकारहरूको प्रश्नमा उनले भनेका थिए।

स्रोतका अनुसार कांग्रेस, लोसपा र एकीकृत समाजवादीलाई समेटेर जसपा नेपालकै सरकारलाई निरन्तरता दिने आन्तरिक सहमति भइसकेको छ।

नयाँ सरकारमा कांग्रेसलाई ४, लोसपालाई २, एकीकृत समाजवादीलाई २ र जसपालाई मुख्यमन्त्रीसहित ४ मन्त्रालय दिने सहमति भएको बताइएको छ।

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *