प्रचण्ड–देउवाबीच ४० मिनेट ‘वन टु वन’ वार्ता

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ।

बूढानीलकण्ठस्थित सभापति देउवाको निजी निवासमा दुवै नेताबीच भेटवार्ता भएको हो।

सभापति देउवालाई भेट्न प्रधानमन्त्री प्रचण्ड बूढानीलकण्ठ पुगेका थिए।

करिब ४० मिनेटसम्म चलेको छलफलमा दुवै नेताबीच संसदीय समितिको कार्यदेश (टिओआर), सदनमा जारी गतिरोध अन्त्य गर्ने लगायतका विषयमा छलफल भएको बताइएको छ।

सहकारीको बचत अपचलनबारे छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको टिओआरमा सत्तापक्ष र प्रतिपक्षबीच सहमति जुट्न सकेको छैन।

कार्यदलले सहमति जुटाउने नसकेपछि टिओआर टुंग्याउने जिम्मेवारी तीन दलका शीर्ष नेताहरूलाई दिइएको छ।

तीन दलका शीर्ष नेताहरूबीच छलफल हुनुअघि प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति देउवालाई भेटेका हुन्।

संसदीय छानबिन समितिको टिओआर टुंग्याउन तीन दलका शीर्ष नेताहरूको बैठक आज बस्दैछ।

शनिबारको बैठकमा यो विषय टुंगोमा पुग्न नसकेपछि आज बैठक बस्ने तय भएको हो।

प्रमुख प्रतिपक्षी दल कांग्रेसले संसदीय छानबिन समिति बनाउन माग गर्दै सदन अवरूद्ध गर्दै आइरहेको छ।

आइतबार बस्ने प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने कार्यसूची तय गरिएको छ।

प्रतिनिधिसभाको बैठकअघि प्रधानमन्त्री प्रचण्ड सहमति जुटाउने प्रयासमा लागेका छन्।

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *