सिरोहियालाई अनावश्यक पक्राउ गरिएको छ : निधि

जनकपुरधाम- नेपाली कांग्रेसका पूर्वउपसभापति एवं प्रतिनिधिसभा सदस्य विमलेन्द्र निधिले कान्तिपुर मिडिया समूहका अध्यक्ष कैलाश सिरोहियालाई अनावश्यक गिरफ्तार गरिएको बताएका छन्।

बिहीबार गृहनगर जनकपुरधाम पुगेका निधिले विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै यस्तो बताएका हुन्।

सिरोहियामाथि लगाइएका आरोपहरू निराधार र त्रुटिपूर्ण रहेको निधिले बताए।

उनले व्यवस्थापकीय र कानुनी त्रुटिका कारण नागरिकतामा तिथिमिति फरक देखएको बताउँदै किर्ते नभएको उल्लेख गरे।

‘नागरिकताको बारेमा सरकारले अहिलेदेखि होइन पञ्चायती व्यवस्थादेखि अहिलेसम्म संविधान र कानुनमा पटक–पटक संशोधन गरेको छ, बरू व्यवस्थापकीय र कानुनी त्रुटिका कारण मिति फरक–फरक देखिएका छन्,’ निधिले भने,‘सिरोहियाको नागरिकता किर्ते हुँदै होइन।’

नेपालमा नागरिकताको सम्बन्धमा आवाज उठाउनेहरू सबैका लागि यो सरोकारको विषय भएको उनको भनाइ छ।

‘यो सबैको सरोकारको विषय हो, नेपालमा जसजसले नागरिकताको आवाज उठाउनुभएको छ सबैका लागि सरोकारको विषय हो,’ निधिले भने।

उनले सहकारी ठगी प्रकरणमा संलग्न रहेको भनिएका गृहमन्त्री रवि लामिछानेबारे कान्तिपुरले श्रृंखलाबद्ध रूपमा समाचार प्रकाशन गरेपछि बदलाको भावनाले सिरोहियालाई पक्राउ गर्न लगाइएको बताए।

सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न आफूहरूले संसदीय समिति बनाउन भनिरहे पनि सरकार आफैं न्यायाधीश बन्न खोजेको उनले उल्लेख गरे।

निधिले सहकारी बचतकर्ताको रकम अपचलन भएका विषयमा छानबिन गर्न संसदीय समिति नबनेसम्म संसद चल्न नदिने कांग्रेसको अडान यथावत रहेको प्रष्ट पारे।

सरकारको तानाशाही र राज्यलाई कब्जा गर्ने प्रवृत्तिविरूद्ध लड्न कांग्रेस तयार रहेको उनले बताए।

‘राज्यलाई जसरी कब्जा गर्ने प्रयास भइरहेको छ, सरकार तानाशाही बन्न खोजिरहेको छ, यस्तै रहिरह्यो भने संघर्ष गर्न कांग्रेस तयार छ,’ निधिले भने,‘हामी चाहन्छौं यस्तो गर्नु नपरोस्, बेलैमा सरकारलाई बुद्धि आओस्। नेपाली कांग्रेस राणा र पञ्चायती शासनविरूद्ध लडेर आएको पार्टी हो।’

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *