जनकपुरधाम- ताइवानको नयाँ राष्ट्रपतिमा विलियम लाईले सपथ लिएको तीन दिनपछि चीनले उक्त प्रायःद्वीपवरपर सैन्य अभ्यास सुरू गरेको छ।
चिनियाँ जनमुक्ति सेनाका प्रवक्ता ली सीले यो अभ्यासलाई ‘पृथकतावादी गतिविधिहरू’ विरूद्धको ‘कठोर सजाय’ भनेका छन्।
चीनको सैन्य अभ्यास बिहीबार बिहानबाट सुरू भएको हो। यो अभ्यास मुख्य टापुसहित ताइवान स्ट्रेट र त्यसको पश्चिम अनि ताइपेईको नियन्त्रण रहेका जिन्मन, मात्सु, वुचियु र डोड्यिन वरपर भइरहेको छ।
ताइवानको रक्षा मन्त्रालयले बेइजिङको कदमलाई ‘अर्थहीन उत्तेजना’ भनेको छ।
ताइपेइले आफ्नो ‘सार्वभौमसत्ताको रक्षाका लागि’ जल, वायु र स्थलसेना खटाएको मन्त्रालयको भनाइ छ।
चीनको सेनाले आफ्नो अभ्यास समुद्री र वायु युद्धको तयारी गस्ती, प्रमुख निसानाहरूमा हमला र उक्त टापुको भित्री र बाहिरी क्षेत्रमा एकीकृत कारबाहीमा केन्द्रित रहेको जनाएको छ।
त्यसको उद्देश्य आफ्नो फौजको ‘वास्तविक संयुक्त युद्ध क्षमता परीक्षण गर्नु’ रहेको उसको भनाइ छ।
लामो समयदेखि स्वशासन भएको ताइवानले आफूलाई स्वतन्त्र राष्ट्र भएको ठान्छ। तर, चीनले ताइवानलाई आफ्नो भूभाग मान्दै आएको छ।(बिबिसी)
Leave a Reply