जनकपुरधाम- सशस्त्र प्रहरी धनुषाले जनकपुरधामबाट दुई जना नाबालिग किशोरीहरूको उद्धार गरेको छ।
सिरहाको कर्जन्हाबाट भागेर भारततर्फ जाँदै गरेका दुई किशोरसहित दुई नाबालिग किशोरीलाई सशस्त्र प्रहरीले उद्धार गरेको हो।
रेल चढेर भारतको जयनगरतर्फ जाने क्रममा रेल्वे सुरक्षा बेस जनकपुरधामको टोलीले उनीहरूलाई उद्धार गरेको सशस्त्र प्रहरी धनुषाका प्रमुख एसपी दर्शन गिरीले जानकारी दिए।
एसपी गिरीका अनुसार नाबालिग किशोरीहरूलाई देखेर शंका लागेपछि रेल्वे सुरक्षा बेस टोलीले रेल्वे स्टेशनबाट उनीहरूलाई उद्धार गरेको बताए।
‘दुवै जना किशोरीहरू नाबालिग हुन्, दुई जना युवाहरूको साथमा भारततर्फ जाने क्रममा रेल्वे सुरक्षा बेसको टोलीले शंकाको आधारमा उनीहरूलाई नियन्त्रणमा लिएर उद्धार गरेको हो,’ उनले भने।
सोधपुछका क्रममा उनीहरूले बिहे गरेर भारत जान लागेको बताए पनि नाबालिग भएका कारण उद्धार गरिएको गिरीले बताए।
उनका अनुसार उद्धार गरिएका चारै जनालाई माइती नेपालको जिम्मा लगाइएको छ।
Leave a Reply