बस्दै नबसी प्रतिनिधिसभा बैठक स्थगित

फाइल तस्बिर

काठमाडौं- प्रतिनिधिसभाको बैठक स्थगित भएको छ।

शुक्रबार दिउँसो २ बजे बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको हो।

प्रतिनिधिसभाको अर्को बैठक जेठ ६ गते बिहान ११ बजे बस्ने गरी बोलाइएको छ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाउने विषयमा सहमति नजुटेपछि प्रतिनिधिसभा बैठक स्थगित भएको हो।

सहकारी रकम ठगी प्रकरणमा मुछिएकाले गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन समिति बनाउन माग गर्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले माग राख्दै आएको छ।

सरकार भने संसदीय समिति कुनै पनि हालतमा नबन्ने बताएपछि कांग्रेसले सदनमा निरन्तर अवरोध गर्दै आइरहेको छ।

पछिल्लो समय संसदीय समिति बनाउनुपर्ने विषयलाई लिएर प्रमुख प्रतिपक्षी कांग्रेससहित विपक्षी दलहरू एकै ठाउँमा उभिएका छन्।

शुक्रबार कांग्रेस सभापति शेरबहादुर देउवाले बोलाएको विपक्षी दलहरूको बैठकमा संसदीय छानबिन समिति बनाउन शीर्ष नेताहरू एकमत भएका हुन्।

बिहीबारको बैठकमा सभामुख देवराज घिमिरेले संसदीय समिति बनाउन माग राख्दै कांग्रेसका सांसदहरूले नाराबाजी गरिरहँदा गृहमन्त्री लामिछानेलाई बोल्न समय दिएपछि सत्तापक्ष र प्रतिपक्षका सांसदहरूबीच घम्साघम्सी भएको थियो।

 

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *