निधिसँगको भेटमा श्रीराम जन्मभूमि तीर्थ क्षेत्रका महासचिव रायले भने–सीताशक्तिबाट राम शक्तिशाली बनेका हुन्

काठमाडौं- नेपाली कांंग्रेसका पूर्वउपसभापति एवं पूर्वउपप्रधानमन्त्री र अयोध्यास्थित श्रीराम जन्मभूमि तीर्थक्षेत्र ट्रस्टका महासचिव चम्पत रायबीच भेटवार्ता भएको छ।

व्यक्तिगत कार्यक्रमका लागि काठमाडौं आएका रायले बुधबार मध्य बानेश्वरस्थित निधि निवास पुगेर नेता निधिसँग शिष्टाचार भेटवार्ता गरेका हुन्।

भेटका क्रममा दुवै जनाबीच अयोध्यामा नवनिर्मित राम मन्दिर, नेपालबाट लगिएको देवशीला, जनकपुरधामबाट निकट भविष्यमा लगिने धनुष, रामायण सर्किट, सितायन सर्किटलगायतका विषयमा छलफल भएको निधिको सचिवालयले जनाएको छ।

भारतमा रामायण सर्किट निर्माण भइरहँदा सितायन सर्किटतर्फ समेत जोड दिइनुपर्ने पूर्वउपसभापति निधिले महासचिव रायसँग आग्रह गरेका थिए।

‘रामायण सर्किट निर्माणका लागि भारतले अग्रसरता लिएको छ, सीताविना राम अपूरो हुनेछन्, त्यसैले सितायन सर्किट पनि हुँदा झनै राम्रो हुन्छ,’ निधिले महासचिव रायलाई भनेका थिए।

जवाफमा रायले सीताकै शक्तिबाट राम शक्तिशाली बनेकोले सितायन सर्किटका लागि पनि पहल गर्न आश्वासन दिएका थिए।

नेपालको कालीगण्डकीबाट लगिएको देवशीला अयोध्याको पवित्रस्थलमा राखिने उनले बताएका थिए।

‘देवशीलाको पूजाअर्चना गर्न श्रद्धालुहरू आउने गरेका छन्, यो देवशीलालाई पवित्र स्थानमा राखिनेछ,’ उनले भने।

अयोध्याको राम मन्दिरका लागि जनकपुरधामबाट पठाउने भनिएको धनुषबारे पनि नेता निधि र महासचिव रायबीच छलफल भएको छ।

जनक दरबारमा राखिएका शिव धनुष तोडेपछि भगवान रामको सीतासँग विवाह भएको मान्यताअनुसार जनकपुरधामबाट अयोध्याको राम मन्दिरमा राख्न धनुष पठाउने तयारी गरिएको छ।

यो विषयमा महासचिव रायले मन्दिरको दोस्रो तल्लामा जनकपुरधामबाट आउने धनुष राखिने जानकारी गराएका थिए।

‘अहिले मन्दिरको एक तलामात्रै निर्माण भएको छ, चाँडै दोस्रा तला पनि तयार हुन्छ,’ रायले भने,‘मन्दिरको दोस्रा तलामा जनकपुरधामबाट आउने धनुष राख्ने छौं।’

मन्दिरको दोस्रो तलामा राम दरबार निर्माण हुने जानकारी गराउँदै उनले यो तलामा भगवान राम, सीता, लक्ष्मण, हनुमानलगायतका प्रतिमा स्थापना गरिने बताए।

 

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *