DHKHABAR

All news at one place

समाचार

अमेरिकामा किन लगातार भारतीय विद्यार्थीहरूको मृत्यु भइरहेको छ?

जनकपुरधाम- अमेरिकाको सेन्ट लुइस, मिजोरीस्थित वाशिङ्टन विश्वविद्यालयका विद्यार्थी जे सुशील उदास भएको बताउँछन्।

उनी गत फेब्रअरीमा भारतका ३४ वर्षीय शास्त्रीय नर्तक अमरनाथ घोषको मृत्युले अझै स्तब्ध छन्।

स्थानीय प्रशासनले उनको हत्या भएको हुनसक्ने ठान्दै अनुसन्धान गरिरहेको छ।

सुशीललाई आफ्नो विश्वविद्यालयबाट कुनै जानकारी प्राप्त हुनुअघि नै भारतबाट एक साथीले घोषको मृत्युबारे जानकारी दिएका थिए।

उनी भन्छन्,‘उनीहरूले हामीलाई दुई दिनपछि मात्र भने। विद्यार्थीहरू समग्रमा यस्तो व्यवहारबाट अति बेखुसी छन्। यो त भारतीयहरूले कस्तो महसुस गर्छन् भनेर कसले वास्ता गर्छ र? भने जस्तो छ।’

घोषको क्याम्पसबाहिर सहरको सडकमा गोली हानेर हत्या गरिएको थियो।

विश्वविद्यालय के भन्छ?

विद्यार्थीको मृत्युबारे विश्वविद्यालयले चाहिँ कानुन कार्यान्वयन गर्ने निकायहरूले उनको पहिचान पुष्टि गरेपछि मात्र जानकारी दिने चलन रहेको स्पष्ट पारेको छ।

विश्वविद्यालयको भनाइमा त्यो प्रक्रिया पूरा गर्न समय लाग्छ र विद्यार्थीका नजिकका आफन्तको सहमतिमा मात्र त्यस्तो जानकारी दिइन्छ।

यो घटनालाई सेन्ट लुइसस्थित वाशिङ्टन विश्वविद्यालयको ‘मार्केटिङ एन्ड कम्युनिकेसन्स’ की उपकुलपति जुली फ्लोरीले ‘भयानक त्रासदी’ भनेकी छन्।

उनले भनिन्,‘हामीले यो दुःखद खबर हाम्रो समुदायको सदस्यसँग सकेसम्म तुरून्तै र अमरनाथका निकटतम व्यक्तिहरूको इच्छाअनुसार साझा गरेका हौं।’

भारतीय विद्यार्थीको मृत्युको प्रवृत्ति

घोष यो वर्ष हालसम्म अमेरिकामा मृत्यु भएका ११ जना भारतीय वा भारतीय मूलका विद्यार्थीमध्ये एक हुन्।

त्यसले अमेरिकास्थित भारतीय विद्यार्थी समुदायमा व्यक्तिगत सुरक्षाबारे डर पैदा भएको छ।

मृत्युका कारण फरकफरक छन्। त्यस्ता कारण अति जाडोका कारण शरीरको तापक्रम न्यूनतमभन्दा निकै कम हुने ‘हाइपोथर्मिया’ भनिने अवस्थादेखि आत्महत्या र गोली प्रहारका घटनासम्म छन्।

विज्ञहरू चाहिँ यी असम्बन्धित घटनाबीच स्पष्ट खालको कुनै सम्बन्ध नरहेको बताउँछन्।

तर, प्रत्येक घटनाले उत्पन्न गरेको त्रासदीबारे क्याम्पसहरूमा चर्चा हुन्छ र विद्यार्थीहरू आफ्नो शैक्षिक कार्यबीच डराउँदै आफ्नो दैनिकी जारी राख्छन्।

डरको अवस्था

‘हामी अध्यारो भएपछि बाहिर निस्कन छाड्छौं। हामीले सहरमा बेलुका असुरक्षित हुनसक्ने ठाउँहरू पहिचान गरेका छौं। हामी अरू के नै गर्न सक्छौं र?,’ सुशीलले भने।

सुशीलजस्तै अरू पनि आफ्नो विश्वविद्यालयले साथीहरूको मृत्युबारे समयमा खबर नगरेको र त्यसबारे आफूहरूले भारतीय सञ्चारमाध्य वा भारतमा रहेका आफन्तबाट थाहा पाएको बताउँछन्।

क्लीभल्यान्ड स्टेट युनिभर्सिटीका २५ वर्षीय विद्यार्थी मोहम्मद अब्दुल अर्फाथ गत महिना मृत अवस्थामा फेला परे। उनी गत मार्चदेखि हराइरहेका थिए।

उनी अध्ययनरत कलेजमा भर्ना भएका आफ्नो नाम सार्वजनिक गर्न नचाहने एक विद्यार्थीले अर्फथको मृत्युबारे आफ्ना आमाबुबाले पठाएको ह्वाटसएप सन्देशबाट थाहा पाएको बताए।

सन् २०२२–२३ मा झन्डै २ लाख ६७ हजार भारतीयहरू अमेरिकी विश्वविद्यालयमा भर्ना भएका थिए र यो संख्या सन् २०३० सम्म १० लाख पुग्ने अनुमान गरिएको छ।

‘भारतमा अमेरिकी डिग्रीको इच्छा र आकर्षण गरिहो छ र यसले भारतीय परिवारहरूलाई आकर्षित गर्छ,’ न्युयोर्कस्थित एक जना शिक्षा विज्ञ रजिका भण्डारी भन्छिन्।

भारतीय भएकाले यस्तो भइरहेको भनेर व्यापक रूपमा बनाउन खोजिएको भाष्यको जञ्जालमा नपर्नु नै महत्वपूर्ण हुने उनको भनाइ छ।

‘रङ्गभेद वा जातीय शत्रुताका आधारमा यी आक्रमणहरू भएका हुन् भन्ने देखाउने खालका कुराहरू मैले देखेको छैन,’ उनी भन्छिन्।

सुरक्षा चिन्ता

कलेज छनोट गर्दा विद्यार्थीहरूका लागि सुरक्षा र कानुन कार्यान्वयन सधैँ महत्वपूर्ण भएको विज्ञहरू बताउँछन्।

गत फेब्रुअरीमा भारतका लागि अमेरिकी राजदूत एरिक गार्सेट्टीले भनेका थिए,‘भारतीयलाई थाहा भएजस्तै संयुक्त राज्य अमेरिका अध्ययन र सुरक्षित रहनका लागि एउटा अद्भुत ठाउँ हो भन्ने बनाइराख्न हामी धेरै नै प्रतिबद्ध छौं।’

तर, हालै भएका भारतीय विद्यार्थीहरूको मृत्युको संख्याले उक्त विषयले धेरैको ध्यान तानेको छ।(बिबिसीबाट)

 

SHARINGS

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *