DHKHABAR

All news at one place

राजनीति

राहुलले छाडे अमेठी, रायबरेलीबाट चुनाव लड्ने

जनकपुरधाम- भारतीय कांग्रेस नेता राहुल गान्धी उत्तर प्रदेसको रायबरेली लोकसभा सिटबाट चुनाव लड्ने भएका छन्।

राहुलले कहाँबाट चुनाव लड्ने विषयमा रस्साकस्सी चलिरहेको बेला कांग्रेसले उनलाई रायबरेलीबाट टिकट दिने निधो गरेको हो।

उनी रायबरेली सिटबाट लोकसभा चुनाव लड्न लागेको यो पहिलोपटक हो।

यसअघि उनी तीनपटक उत्तर प्रदेसकै अमेठीबाट चुनाव जितेर लोकसभासम्म पुगेका थिए। तर, २०१९ को चुनावमा उनलाई त्यहाँबाट हारको सामना गर्नुपरेको थियो।

राहुल भारतीय जनता पार्टी (भाजपा) की स्मृति इरानीबाट पराजित भएका थिए।

त्योपटक केरलको वायनाड सिटबाट पनि चुनाव लडेका उनी निर्वाचित भएका थिए। अमेठीका मतदाताले नपत्याए पनि वायनाडबाट चुनाव जितेर राहुल लोकसभासम्म पुगेका थिए।

यसपालि पनि उनी रायबरेलीका साथै वायनाडबाट चुनाव लड्दै छन्।

भारतका पूर्वप्रधानमन्त्री इन्दिरा गान्धी र राजीव गान्धी अमेठीबाट चुनाव जितेर लोकसभासम्म पुग्ने गरेका थिए।

अमेठी कांग्रेसका लागि पकड क्षेत्र मानिन्थ्यो। अमेठीबाट गान्धी परिवारका कुनै पनि सदस्य नलड्ने सन् १९९९ पछि यो पहिलोपटक हो।

कांग्रेसले त्यो क्षेत्रबाट किशोरी लाल शर्मालाई उम्मेदवार बनाएको छ।

शर्मा रायबरेलीमा कांग्रेसकी पूर्वअध्यक्ष सोनिया गान्धीका संसदीय प्रतिनिधि हुन्।

कांग्रेसले उम्मेदवारको सूची जारी गर्नुअघि प्रियन्का गान्धी अमेठी वा रायबरेलीमध्ये कुनै एक सिटबाट चुनाव लड्नसक्ने आकलन गरिएको थियो।

तर, कांग्रेसले जारी गरेको उम्मेदवारहरूको सूचीमा प्रियन्काको नाम समावेश गरिएको छैन।

भाजपाले रायबरेलीबाट दिनेशप्रताप सिंह र अमेठीबाट केन्द्रीयमन्त्रीसमेत रहेकी स्मृति इरानीलाई उम्मेदवार बनाएको छ।

अमेठी र रायबरेलीमा मनोनयन दर्ताका लागि शुक्रबार अन्तिम समय हो। दुवै सिटमा पाँचौं चरणअन्तर्गत २० मेका दिन मतदान हुनेछ।

SHARINGS

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *