DHKHABAR

All news at one place

राजनीति

‘सुवास’ को विरासत जोगाइदिएका सुहाङ

काठमाडौं- घरमा राजनीतिक माहोल हुँदा पनि उनी राजनीतिबाट टाढै बस्थे। बुबाले राजनीतिक विरासत सम्हाले पनि अध्ययन र खेलकुदतर्फ बढी रूची थियो, उनको।

परिस्थिति फेरियो। नेपाली राजनीतिमा सालिन राजनीतिज्ञको व्यक्तित्व बनाएका बुबा सुवासचन्द्र नेम्वाङको हृदयघातका कारण एक्कासी निधन भयो।

अनि समयचक्रले सुवासका कान्छो छोरा सुहाङलाई राजनीतिमा ल्याइदियो। एमालेका तत्कालीन उपाध्यक्षसमेत रहेका पूर्वसभामुख सुवासको निधन भएसँगै इलाम–२ मा उपनिर्वाचन हुने निश्चित भइसकेको थियो।

त्यो निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा २०४८ यता भएका सबै चुनावमा सुवासलाई कसैले चुनौती दिन सकेको थिएन। उनी निरन्तर इलामा क्षेत्र नम्बर २ बाट अपराजित भइरहे।

उपनिर्वाचनमा एमालेलाई सुवासको राजनीतिक विरासत जोगाउने चुनौती थियो।

किनभने २०७९ मंसिरमा भएको निर्वाचनमा त्यो क्षेत्रबाट नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्का ११४ मतको झिनो अन्तरले मात्रै पराजित भएका थिए।

उपनिर्वाचनका लागि त्यो क्षेत्रमा एमालेबाटै धेरै जना इच्छुक देखिएका थिए।

ती आकांक्षीहरूमधये एक थिए, सुहाङ पनि। बुबाले गर्न बाँकी रहेका काम राजनीतिमा आएर आफूले गर्ने सुवासको निधनपछि उनले बताइसकेका थिए।

एमालेले पनि उनीमाथि विश्वास ग¥यो। र, सुहाङ बुबाको विरासतमात्रै जोगाएका छैनन्, इलाम–२ मा एमालेको दबदबालाई कायमै राख्न सफल भएका छन्।

बुबा सुवासबाट ११४ मतको अन्तरले मात्रै पराजित भएका कांग्रेसका तिनै खड्कालाई उनले ५ हजार ८३० मतको फराकिलो अन्तरले पराजित गर्दै संसदको यात्रा प्रारम्भ गरेका छन्।

सुहाङले २७ हजार ७७२ मत ल्याउँदा खड्काले २१ हजार ९४२ मत प्राप्त गरेका छन्।

२०४६ साल फागुन ६ गते काठमाडौंमा जन्मिएका सुहाङको विद्यालय जीवन ग्लोक्सी पब्लिक स्कुलबाट सुरू भयो। ग्लोक्सी पब्लिक स्कुलमा नर्सरीबाट अध्ययन सुरू गरेका उनले जगत माध्यमिक विद्यालयबाट एसएलसी उतीर्ण गरे।

ज्ञानोदय बालबाटिकाबाट कक्षा १२ सम्मको अध्ययन पूरा गरेर उच्च शिक्षाका लागि अस्ट्रेलिया गए।

त्यहाँ दुई वर्ष बसेर सुहाङ नेपाल फर्किए। काठमाडौं स्कुल अफ लबाट कानुन सङ्कायमा बिएलएलबी, वाणिज्य कानुनमा एलएलएम अध्ययन पूरा गरे।

आफू पनि कानुन पढेर अधिवक्ता भएकाले सुहाङलाई पनि कानुन बढाउने इच्छा थियो, सुवासको। बुबाको चाहनामा खरो उत्रिएका सुहाङ पछिल्लो समय काठमाडौंको थापागाउँमा ‘कान्तिपुर ल एसोसिएट्स एन्ड रिसर्च सेन्टर’ स्थापना गरेर वकालत गर्दै आएका थिए।

राजनीतिभन्दा बढी खेलकुदमा बढी लगाव राख्ने उनी कलेजमा हुने खेलकुद प्रतियोगिताहरूमा निरन्तर सहभागी भइरहन्थे।
खेलकुदकै विकासका लागि सुहाङले दुई वर्षअघि ‘इलामा स्पोर्टिङ डी मेची क्लब’ समेत स्थापना गरेका थिए।

फुटबल र क्रिकेटमा रूची राख्ने तथा पेसाले अधिवक्ता सुहाङ सरल, सालिन र नरम स्वभावका रहेको उनलाई नजिकबाट चिन्नेहरू बताउँछन्।

राजनीतिमा गाम्भीर्यताका साथ रूची नराखे पनि बुबाका सक्रियताका कारण राजनीति बुझ्नबाट भने अछुतो थिएनन्, उनी।

२०४६ सालको राजनीतिक परिवर्तनपछि बुबा सँधै केन्द्र्रीय राजनीतिमा सक्रिय भएकाले सुहाङले पनि राजनीतिलाई नजिकबाट सम्झने अवसर पाए।

यद्यपि बुबाको निधन अघिसम्म उनी राजनीतिबाट टाढै बसे। सुहाङले यसअघिसम्म कुनै पनि निर्वाचनमा मतदानसमेत गरेका थिएनन्।

आफ्नै बुबा उम्मेदबार हुँदासमेत मतदाता नामावलीमा नाम दर्ता नभएकाले उनले मतदान गर्न पाएका थिएनन्।

राजनीतिलाई नजिकबाट बुझ्ने अवसर पाए पनि खासै रूची नभएका सुहाङलाई परिस्थितिले प्रतिनिधिसभा सदस्य बनाइदिएको छ।

एमालेबाट टिकट पाएका उनले माओवादी केन्द्र र नेपाल परिवार दलको समर्थनबाट चुनाव जितेर कम उमेरमै संसद छिर्ने अवसर पाएका छन्।

सालिन एवं बौद्धिक नेताको छवि बनाएका सुवासको छोराको रूपमा सुहाङलाई बुबाको बिरासत जोगाउनुपर्ने जिम्मेवारी र नयाँ पुस्ताको भरोसा जित्ने चुनौती छ।

 

SHARINGS

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *