DHKHABAR

All news at one place

समाचार

पाकिस्तानकी आयशा जसलाई भारतको ‘मुटु’ ले दियो नयाँ जीवन

जनकपुरधाम- ‘हामीले पाकिस्तानमा एक अभियान चलायौं। तर, चाहिएको जति पैसाको बन्दोबस्त हुन सकिरहेको थिएन। यसका बाबजुद भारतका डाक्टरले हाम्रो लागि जे गरे त्यो अविश्वसनीय छ। मैले के अनुभव गरिरहेको छु, त्यो भन्नलाई मसँग शब्द छैन।’

यो भनाइ हो पाकिस्तानको कराँचीकी सनोबर रशीदको। उनकी १९ वर्षीया छोरी आयशाको मुटुको ‘ट्रान्सप्लान्ट’ दक्षिण भारतको चेन्नइस्थित एमजिएम अस्पतालमा भएको छ।

यो कुरा भनिरहँदा उनी एमजिएम अस्पतालको ११ औं तलामा थिए। उनको अनुहारमा चैन र खुसीको छनक प्रष्ट देखिन्थ्यो।

छोरीको मुटुको ‘ट्रान्सप्लान्ट’ हुन्छ भन्ने भरोसाका साथ उनी १० महिनाअघि भारत आएकी थिइन्।

आयशाको उमेर ७ वर्ष छँदा उनको मुटुको २५ प्रतिशत भाग काम नलाग्ने भइसकेको जाँचबाट खुलेको थियो। समयक्रमसँगै आयशाको मुटुले सामान्य ढंगबाट काम गर्न छोडिरहेको थियो।

पाकिस्तानमा सम्भव थिएन सर्जरी

आयशाको मुटुमा एक कृत्रिम उपकरण जडान गरिएको थियो। तर, कराँची फर्किएको दुई वर्षपछि उनलाई संक्रमण भयो र मुटुको दायाँ भागले काम गर्न छोडिदियो।

त्यसपछि चिकित्सकहरूले ‘ट्रान्सप्लान्ट’ मात्र एक विकल्प रहेको बताए।

यो सर्जरी पाकिस्तानमा सम्भव नभएको बताउँदै सनोबर भन्छिन्,‘डाक्टरले हामीलाई भारता वा कनाडा जान सुझाव दियो। हामीले जाँचपड्ताल सुरू गर्‍यौं। भारत नै उपयुक्त हुने जानकारी हामीले पायौं।’

सनोबरले चेन्नईमा एक डाक्टरसँग सम्पर्क गरे। तर, उनीसँग यो सर्जरी र उपचारमा लाग्ने पैसा थिएन।

उनी भन्छिन्,‘तपाईंहरू आउनुस् बाँकी हामी सम्हाल्ने छौं भनेर डाक्टरले भने।’

डा.बालाकृष्णन एमजिएम अस्पतालमा मुटु ‘ट्रान्सप्लान्ट’ युनिटका डाइरेक्टर हुन् जसले २०१९ देखि आयशाको इलाज गरिरहेका छन्।

बालाकृष्णन भन्छन्,‘पहिलोपटक आयशा यहाँ आउँदा उनलाई हृदयघात भएको थियो। हामीले ‘एकमो’ (इसिएमओ) नामक उपकरण लगाइदिएका थियौं। रगतलाई चलायमान राख्ने एक कृत्रिम उपकरण पनि लगाएका थियौं। स्वास्थ्यमा सुधार भएपछि उनलाई हामीले घर पठाइदियौं। तर, पाकिस्तानमा कृत्रिम ‘हर्ट पम्प’ निगरानीका लागि सुविधा उपलब्ध थिएन। जसले गर्दा खुनको एक नलीमा चुहावट आयो।’

उनकाअनुसार आयशा ज्यादै खराब अवस्थामा आएकी थिइन् र कतिकौं दिनसम्म बेहोस थिइन्।

लामो समयदेखि उपचार गरिरहेका कारण सक्दो सहयोगका लागि आफूले प्रयास गरेको बालकृष्णनको भनाइ छ।

डा.बालकृष्णनकै प्रयासको फलस्वरूप दिल्लीका एक ६९ वर्षीय एक सदस्यको मुटु दान गर्न तयार भए।

एमजिएम अस्पतालका महानिर्देशक सुरेश राव भन्छन्,‘भारतमा ट्रान्सप्लान्टको नीतिअनुसार कसैले शारीरिक अङ्ग दान गर्दा पहिलो प्राथमिकता स्थानीय नागरिकले पाउँछन्। त्यसैले आयशालाई दश महिना कुर्नुपर्‍यो। अरू कुनै उम्मदवार नभएपछि आयशलाई यो मुटु प्राप्त भयो।’

मुटु नपाइएको भए सम्भवतः आयशा आज जीवित नहुने उनको भनाइ छ।

डा.सुरेश भन्छन्,‘मुटु दान गर्न एक परिवार तयार भएको पत्ता चलेपछि हामीले आयशालाई सर्जरीका लागि तयार गर्‍यौं। दिल्लीबाट पाँच घन्टामा मुटु चेन्नई पुग्यो। जब कुनै मुटु पाँच घन्टासम्म चल्न छोडिदिँदा फेरी त्यसलाई जीवित गर्नुपर्ने हुन्छ।’

फेसन डिजाइनर बन्न चाहिन्छन् आयशा

डा.बालकृषणन आयशाको उपचार ऐश्र्यम ट्रस्टको मदतबाट सम्भव भएको बताउँछन्।

‘आयशाको परिवारसँग उपचारका लागि पर्याप्त पैसा थिएन। यो उपचार ऐश्वर्यम ट्रस्टको मदतबाट सम्भव भयो। केही मदत मैले र केही एमजिएम अस्पतालमा ट्रान्सप्लान्ट गराउने मानिसहरूले गर्‍यो,’ उनले भने।

ऐश्वर्यम ट्रस्टले अहिलेसम्म १२ हजार बिरामीको उपचारमा सहयोग गरिसकेको छ जसमध्ये १७५ मुटुको ट्रान्सप्लान्ट सामेल छ।

आयशाले डाक्टरहरूप्रति आभार प्रकट गर्दै भनिन्,‘यो सर्जरीपछि म ज्यादै राम्रो अनुभव गरिरहेको छु। दुई महिनापछि म घर फर्किनसक्ने डाक्टरहरूले भन्नु भएको छ। घर फर्किएर पढाइलाई निरन्तरता दिँदै भविष्यमा फेसन डिजाइनर बन्न चाहन्छु।’
भारतमा रहँदा पाकिस्तानबाहिर नभएको अनुभव आफूले गरेको उनले बताइन्।

उनी भन्छिन्,‘भारतमा रहँदा पाकिस्तानबाहिर भएको जस्तो लागेको छैन। सबैथोक एकजस्तै छ, केही पनि फरक छैन।’ (बिबिसीबाट)

 

SHARINGS

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *