जनकपुरधाम- कक्षा १२ को अन्तिम परीक्षा शुक्रबारबाट सुरू भएको छ।
देशभर बिहान ८ बजेदेखि एकैसाथ कक्षा १२ को परीक्षा सुरू भएको हो।
राष्ट्रिय परीक्षा बोर्डले ७७ जिल्लाका १ हजार ५२५ परीक्षा केन्द्रमा शान्तिपूर्ण रूपमा परीक्षा सुरू भएको जनाएको छ।
बोर्डले देशभरका १ हजार ५२५ र देशबाहिर जापानमा एक गरी कुल १ हजार ५२६ परीक्षा केन्द्र निर्धारण गरेको थियो।
जापानको परीक्षा केन्द्रमा पनि इमेलबाट प्रश्नपत्र पठाएर परीक्षा सञ्चालन भएको छ।
कक्षा १२ को परीक्षामा यो वर्ष नियमिततर्फ १ लाख ९६ हजार ९१४ छात्रा र १ लाख ९३ हजार ९३३ छात्र गरी ३ लाख ९० हजार ८४७ परीक्षार्थी सहभागी भएका छन्।
त्यस्तै ग्रेडवृद्धितर्फ १ लाख ६५० विद्यार्थी सहभागी भएको बोर्डले जनाएको छ।
देशभरका ५ हजार ५४२ विद्यालयका विद्यार्थी परीक्षामा सहभागी भएका छन्।
सबैभन्दा बढी काठमाडौंमा १४४ र सबैभन्दा कम मनाङ तथा मुस्ताङमा १–१ परीक्षा केन्द्र निर्धारण गरिएको छ।
परीक्षा सञ्चालनका लागि केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, कर्मचारी, कार्यालय सहयोगी गरी ३४ हजार १७१ जनशक्ति र १८ हजार ३ सय प्रहरी परिचालन भएका छन्।
परीक्षा केन्द्रहरूमा यस वर्ष पनि प्रश्नपत्र इमेलमार्फत पठाइएको छ।
Leave a Reply