DHKHABAR

All news at one place

समाचार

ओत खोज्दै मटिहानीका आगलागी पीडितहरू

 

 

जनकपुरधाम- बुधबार मध्याह्नको समय थियो। उखरमाउलो गर्मीका कारण सर्वसाधारणको दैनिकीलाई कष्टकर बनेको थियो।

भारतीय सीमा नजिकै रहेको महोत्तरी मटिहानी नगरपालिका–६ जरलहवा बस्तीका स्थानीयमध्ये कोही खेतमा काम गरिरहेका थिए भने कतिपय खेतबाट फर्किएर दिनको खाना खाइरहेका थिए।

केहीबेरमै ठूलो विपत्त आइपर्ला भन्ने कुराबाट बेखबर उनीहरू आफ्नो दैनिकीमा व्यस्त थिए। मध्याह्नको खाना खाएर फेरि काममा फर्किने तयारीमा थिए, उनीहरू।

तर, एक्कासी दन्किएको आगोले पूरा बस्तीलाई सखाप पारिदियो। जरलहवा बस्तीमा एकैछिनमा भगदड मच्चियो। बस्तीमा रोइकराइ सुरू भयो। सबैले एकअर्काको सहयोग मागिरहेका थिए।

परिस्थिति बिग्रिएको थियो। कोही कसैलाई सहयोग गर्ने अवस्थामा थिएनन्, किनभने बस्तीका सबै परिवार आ–आफ्नै पीडामा थिए।

गुठीको जग्गामा बसेको यो बस्तीमा अधिकांश धानुक, मुस्लिम, पासवान, मलाह र बिन समुदायको बसोबास छ।

बस्तीको दक्षिण–पश्चिम कुनामा रहेको आँप बगैँचातिरबाट सुरू भएको आगो एक घन्टामै खेतको क्षेत्रसमेत पार गरेर पूरै बस्तीमा सल्कियो।

खेतबारीबाट करिब ७०–८० मिटरको दूरीमा रहेको बस्तीमा पुगेको आगोका कारण चारवटा घरभित्र रहेका खाना पकाउने एलपी ग्यासका सिलिन्डर विस्फोट भयो।

अनि सुरू भयो बस्तीको विनाश। आँपको बगैँचाबाट सल्किएको आगो यो बस्तीका सय घरलाई सखाप पा¥यो। त्यही बस्तीको अर्को क्षेत्रमा पनि आगो सल्कियो। त्यहाँ करिब ५० घर जलेर नष्ट भए।

बस्तीमा आगो दन्किएपछि स्थानीय वासिन्दा ज्यान जोगाउँ कि धनमालको रक्षा गरौं वा पशुचौपायालाई जोगाउँ भन्ने अलमलमा परे।

तर, उनीहरूसामु भागेर ज्यान जोगाउनुबाहेक अन्य कुनै विकल्प थिए। पूरा बस्तीमै आगो दन्किएको प्रत्यक्ष हेरिरहेका स्थानीयले घरभित्रबाट सरसमान निकाल्ने र बाँधेर राखिएका पशुचौपायालाई समेत मौका पाएनन्।

आगालागी भएको १५ मिनेटमै मटिहानी नगरपालिकाको दमकल घटनास्थल पुग्यो। पूरा बस्तीको आगो नियन्त्रण गर्न एउटामात्र दमकल काफी थिएन।

त्यसैले नजिकै रहेको जलेश्वर नगरपालिका, जनकपुरधाम उपमहानगरपालिका, रामगोपालपुर, गौशाला, सशस्त्र प्रहरीको छिन्नमस्ता बाहिनी बर्दिवास र भारत बिहार साहरघाटबाटसमेत दमकल बोलाइयो।

आगो नियन्त्रणमा लिन दिनभर १२ दमकल र नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, भारतीय एसएसबीका साथै स्थानीयहरू दिनभर खटिरहे।

झन्डै ७ घन्टाको अथक प्रयासपछि बस्तीमा लागेको नियन्त्रणमा आयो। तर, त्यतिबेलासम्म धेरै ढिला भइसकेको थियो।

मटिहानी नगरपालिकाका मेयर हरि मण्डलका अनुसार बस्तीका १०३ घर पूर्णरूपमा जलेर नष्ट भएका छन् भने ५ सयभन्दा बढी विस्थापित भएका छन्।

घरटहरा जलेर नष्ट भएपछि पीडितहरू बिच्चलीमा परेका छन्। गासको समस्या त छँदैछ, उनीहरूलाई बासको समस्याबाट पनि पिरोली रहेको छ।

बस्ती नै सखाप भएपछि आगलागीपीडितहरू यतिबेला खेत र सडकमा पुगेका छन्।

आगलागीका कारण घरबारविहीन भएका उनीहरूलाई ओत लाग्न यतिबेला त्रिपाल सहारा बनेको छ। मटिहानी नगरपालिकाले पीडितहरूलाई त्रिपाल उपलब्ध गराएको छ।

त्यही त्रिपालमुनि दालमोठ च्युरा खाएर बसिरहेका छन्, आगलागीपीडितहरू।

अगाडि बढ्दैछन् सहयोगी हातहरू

जरलहवा बस्तीका आगलागीपीडितहरूको दुःख कष्टमा हातेमालो गर्न सहयोगी हातहरू अगाडि बढिरहेका छन्।

सरकारी निकायका साथै विभिन्न संघसंस्थाहरू आगलागी क्षेत्रमा पुगेर पीडितहरूलाई राहत उपलब्ध गराउन सुरू गरेका छन्।

मटिहानीका मेयर मण्डल पीडितहरूलाई राहत उपलब्ध गराउन सरकारी निकायका साथै विभिन्न संघसंस्थाहरूले निरन्तर सहयोग गरिरहेको बताए।

‘ठूलै विपत आइपरहेको छ। १०३ घर त पूर्णरूपमै जलेर नष्ट भएका छन्, १२५ घर प्रभावित भएका छन्। आगलागीका कारण ५ सय जना विस्थापित भएको अवस्था छ,’ उनले भने,‘सहयोगी हातहरू अगाडि बढेका छन्, राहतमा कुनै समस्या भएको छैन।’
उनकाअनुसार जिल्ला विपद व्यवस्थापन समिति, रेडक्रस सोसाइटीलगायतका संघसंस्थाहरूले पीडितलाई राहत उपलब्ध गराएका छन्।

मटिहानी नगरपालिकाको छिमेकी धनुषास्थित मुखियापट्टी मुसहरनिया गाउँपालिकाका अध्यक्ष जयकुमार यादव बिहीबार आफैं राहत सामग्री बोकेर पीडितहरूबीच पुगे।

वडाध्यक्ष र पालिकाका समाजसेवीसहित आगलागी प्रभावित क्षेत्रमा चाउचाउ १०८ कार्टुन, च्युरा ६२५ केजी, चिनी २ सय केजी, मुरी ३ सय केजीलगायतका सामग्रही मटिहानीका मेयर मण्डललाई हस्तान्तरण गरेको गाउँपालिका अध्यक्ष यादवले बताए।

त्यस्तै नेपाल–भारतमैत्री युवा संघले पनि आगलागीपीडितहरू राहत सामग्री सहयोग गरेको छ।

प्रतिपीडित परिवारलाई चामल ५ केजी, दाल आधा केजी, नुन १ प्याकेट, डेक्ची २ थान, कराही १ थान, थाल ४ थान, ग्लास २ थान, त्रिपाल १ थानलगायतका सामग्री पीडितहरूका बीच वितरण गरिएको संघले जनाएको छ।

त्यस्तै प्रकौलीस्थित रणभिम गणले बिहीबार राति आगलागीपीडितहरूलाई खानाको व्यवस्थापन गरेको स्थानीयहरूले बताएका छन्।

आगलागीका कारण आफ्नै घरबाट विस्थापित भएर त्रिपालमुनि बस्न बाध्य भएका पीडितहरू यतिबेला ओत खोज्न बाध्य भएका छन्।

घरबारविहीन भएका उखरमाउलो गर्मीमा त्रिपालमुनी बसिरहेका उनीहरू ओत खोजिरहेका छन्।

मटिहानीका मेयर मण्डल पीडितहरूका लागि घरटहरा निर्माण गर्ने विषयमा छलफल अगाडि बढेको बताउँछन्।

राहत सामग्रीका लागि धेरै समस्या नभए पनि पीडितहरूका लागि घरटहरा आवश्यक भएको उनले बताए।

घरटहरा बनाउने विषयमा पीडितहरूसँग छलफल गर्ने तयारी भइरहेको मण्डलको भनाइ छ।

‘अहिले उहाँहरू त्रिपालमै बसिरहनुभएको छ, ज्यादै पीडामा हुनुहुन्छ,’ उनले भने,‘घरटहरा निर्माणका विषयमा भोलि उहाँहरूसँग छलफल गर्दैछौं। नगरपालिकाका साथै अन्य सरकारी निकायबाट सहयोग लिएर पनि चाँडै घरटहरा निर्माण हुन्छ।’

अधिकांश फुसका घर भएको जरलहवा बस्ती प्रायः हरेक वर्ष आगलागीको चपेटामा आउने गरेका छन्। यसअघि पनि त्यहाँ पटकपटक आगलागी भइसकेको छ।

यसपटक भने आगलागीबाट पूरा बस्ती नै सखाप भयो। मैथिलीमा जरलहवाको अर्थ जलेको हुन्छ। प्रायः आगलागी भइरहने हुनाले यो बस्तीको नाम नै जरलहवा टोल राखिएको हो।

पूरा बस्ती नै सखाप पार्ने गरी यसपालि भएको आगलागीका कारण भने अझै खुल्न सकेको छैन। आँपको बगैँचा क्षेत्रबाट सल्किएको आगोको कारण खुल्न नसकेको हो।

मेयर मण्डल आगलागीको कारण खुल्न नसकेको र त्यस विषयमा छानबिन भइरहेको बताए।

‘आगलागीको कारण अझै खुल्न सकेको छैन, त्यो छानबिनको विषय रहेको छ। हामी यतिबेला पीडितलाई राहत र बासको व्यवस्थापन गर्नतर्फ बढी केन्द्रित भएका छौं,’ उनले भने।

 

 

 

SHARINGS

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *