DHKHABAR

All news at one place

समाचार

भारत निर्वाचन : मतदाता ‘लोभ्याउन सित्तैमा बियर र ट्याक्सी’

जनकपुरधाम- दक्षिण भारतको बेंगलुरू सहरमा मानिसहरूले संसदीय निर्वाचनमा मतदान गरून् भनेर धेरै कम्पनीहरूले प्रोत्साहनस्वरूप विभिन्न उपाय घोषणा गरेका छन्।

त्यहाँ मतदाताले निःशुल्क खाना खान र ट्याक्सी चढ्न पाउने छन्।

कर्नाटक राज्यको बेंगलुरू सहरमा प्रायः कम मतदान हुने गरेको छ।

त्यसैले होटल, ट्याक्सी सेवा र अरू कम्पनीहरूले मानिसहरूलाई मतदान गर्न प्रेरित गर्न यस्तो उपाय खोजेको बताइन्छ।

मतदाताहरूले निःशुल्क बियर, निःशुल्क स्वास्थ्य परीक्षणको अवसर र ट्याक्सी चढ्दा छुट पनि पाउनेछन्।

खानेकुरा बेच्ने केही स्थानमा निःशुल्क सेवा लिन ग्राहकले आफूले मतदान गरेको प्रमाणका रूपमा नङमा मसी दलिएको देखाउनुपर्ने छ।

बेंगलुरूमा शुक्रबार मतदान हुनेछ। भारतमा सात चरणमा निर्वाचन हुँदैछ। शुक्रबार दोस्रो चरणमा विभिन्न स्थानमा मतदान हुने योजना छ।

कर्नाटक राज्यको उच्च अदालतले बुधबार स्थानीय होटलहरूको एउटा संगठनलाई निर्वाचन आचारसंहिता उल्लंघन नहुने गरी निःशुल्क खानेकुरा वितरण गर्न वा मूल्य छुट गरेर बेच्न अनुमति दिएको हो।

‘फरकफरक होटल र रेस्टुराँले आफ्नो निर्णयअनुसार मतदातालाई फरकफरक कुरा उपलब्ध गराउने छन्,’ होटल संगठनका अध्यक्ष पिसी रावले ‘बेंगलोर मिरर’ पत्रिकालाई बताएका छन्।

सन् २०१९ मा भएको संसदीय निर्वाचनमा बेंगलुरूको ब्याङ्गलोर साउथ निर्वाचन क्षेत्रमा ५७ प्रतिशत अर्थात कर्नाटक राज्यभरिकै सबैभन्दा कम मतदान भएको थियो।

ब्याङ्गलोर सेन्ट्रल र ब्याङ्गलोर नर्थ दुवै निर्वाचन क्षेत्रमा ५५ प्रतिशतभन्दा कम मतदान भएको थियो। पूरै राज्यमा मतदानको प्रतिशत ६८ थियो।

धेरै कम्पनीहरूले मतदाताहरूलाई गत सातादेखि नै मतदानमा सहभागी हुन प्रोत्साहित गर्दै आएका थिए।

बुधबार अदालतको आदेशपछि तिनले निःशुल्क वा छुटसहित खाना वा सेवा प्रदान गर्ने घोषणा नै गरे।

‘वन्डर्ला’ नामक मनोरञ्जन उद्यानले मतदातालाई टिकट किन्दा छुट दिने भएको छ।

बेंगलुरूस्थित ‘डेक अफ ब्रुज’ नामक मदिरालयले मतदान गरेर पहिला आउने ५० ग्राहकलाई निःशुल्क बियर दिनेछ।

राइडसेयरिङ एप ‘ब्लु स्मार्ट’ ले यात्रुहरूलाई मतदान केन्द्रबाट ३० किलोमिटरसम्मको यात्रामा ५० प्रतिशत छुट दिनेछ।

ट्याक्सी सेवा उपलब्ध गराउने ‘¥यापिडो’ ले अपाङ्गता भएका र पाको उमेरका मतदातालाई निःशुल्क यात्रा गराउनेछ। (बिबिसीबाट)

SHARINGS