DHKHABAR

All news at one place

समाचार

धनुषाको सहिदनगरमा महिलाको शव बरामद, हत्या भएको आशंका

जनकपुरधाम- धनुषाको सहिदनगर नगरपालिकामा एक महिलाको शब फेला परेको छ।

सहिदनगर नगरपालिका–४ मा हँसपुर नगरपालिका–७ बस्ने अन्दाजी ५५ वर्षीया शुभदेवी मण्डलको शव फेला परेको हो।

शनिबार बेलुकादेखि बेपत्ता भएकी मण्डलको शव खोजीगर्ने क्रममा आइतबार बिहान ९ बजेतिर फेला परेको प्रहरीले जनाएको छ।

धनुषा प्रहरीका प्रवक्ता डिएसपी रञ्जन अवाका अनुसार सहिदनगर–४ स्थित माइतीबाट बेपत्ता भएको भनिएकी मण्डलको शव आइतबार बिहान बरामद भएको हो।

‘माइती गएकी शुभदेवी मण्डल बेपत्ता भएको भनिएको थियो। खोजी गर्ने क्रममा आज बिहान ९ बजेतिर शव बरामद भएको छ। शव शुभदेवी मण्डलको रहेको खुलेको छ,’ अवाले भने।

हत्या गरेर मण्डलको शव फ्यालिएको प्रहरीले आशंका गरेको छ।

प्रवक्ता अवाले शवको प्रकृति हेर्दा मण्डलको हत्या भएको हुनसक्ने आफूहरूलाई लागेको बताए।

घटनास्थलमा तालिमप्राप्त कुकुर पठाउन लागिएको उनले जानकारी दिए।

‘हत्या भएको हाम्रो आशंका हो। तालिमप्राप्त कुकुर बोलाइएको छ,’ अवाले भने,‘घटनास्थलमा पठाउँदैछौं, त्यसपछि थप कुरा अगाडि बढ्छ।’

घटनास्थलमा इलाका प्रहरी कार्यालय यदुकुहाको टोली पुगेको र थप अनुसन्धान भइरहेको उनले बताए।

SHARINGS

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *