जनकपुरधाम- पाकिस्तानमा कम्तीमा २० जनाको हत्यामा भारत संलग्न भएको दाबीसहित समाचार प्रकाशित भएपछि दुई देशले एकअर्काको आलोचना गरेका छन्।
गत साता ब्रिटेनको ‘द गार्डिअन’ समाचारपत्रले पाकिस्तानमा भएका गैरन्यायिक हत्याहरूमा भारतको संलग्नताबारे एउटा सामग्री प्रकाशित गरेको थियो।
त्यो आरोपबारे भारतले औपचारिक प्रतिक्रिया दिइसकेको छैन।
तर, शुक्रबार भारतीय रक्षामन्त्री राजनाथ सिंहले भारतमा शान्ति भङ्ग गरेर पाकिस्तान भाग्ने जोसुकैलाई पनि भारतले मार्ने टिप्पणी गरे।
यो टिप्पणीलाई उच्छृंखल भन्दै पाकिस्तानले कडा प्रतिक्रिया व्यक्त गरेको छ।
सन् २०१९ मा भारतले पाकिस्तानको बालाकोट क्षेत्रमा हवाइ आक्रमण गरेपछि दुई देशबीच सम्बन्ध नराम्ररी बिग्रिएको थियो।
भारत प्रशासित कश्मीरको पुलवामामा एउटा आत्मघाती आक्रमण भएपछि भारतले पाकिस्तानमाथि धावा बोलेको थियो।
पुलवामामा भएको घटनामा ४० भारतीय सैनिकको मृत्यु भएको थियो। पाकिस्तानमा आधार भएको आतंकवादी समूह जैस–ए–मोहम्मदले त्यो आत्मघाती आक्रमणको जिम्मेवारी लिएको थियो।
त्यसपछि दुई देशबीचको सम्बन्धमा चिसोपन बढेको छ।
बिहीबार ‘द गार्डिअन’ मा प्रकाशित रिपोर्टमा सन् २०२० यता पाकिस्तानमा भएका कम्तीमा २० वटा हत्यामा ‘विदेशी भूमिमा बसेका आतंकवादीलाई लक्ष्य बनाउने’ भारतको बृहत्तर नीतिअन्तर्गत भारत संलग्न भएको दाबी गरिएको थियो।
त्यसपछि अहिले दुई देशबीच तनाव बढेको हो।
केही महिनाअघि क्यानडाले पनि भारतले आफ्नो भूमिमा व्यक्ति हत्या गरेको आरोप लगाएको थियो। यद्यपि भारतले यो आरोपलाई खन्डन गर्दै आएको छ।
भारतमा अप्रिल १९ मा संसदीय निर्वाचन सुरू हुन लागेको छ। निर्वाचनको मुखमा यो समाचार प्रकाशित भएको हो।
‘द गार्डिअन’ को रिपोर्टमा ‘पाकिस्तानका दुई गुप्तचर निकायका वरिष्ठ अधिकारीहरू’ लाई उद्धृत गरिएको छ।
उनीहरू ती हत्याहरूमा भारतीय गुप्तचर निकाय ‘रिसर्च एन्ड एनलिसिस विङ’ (आरएडब्ल्यू) प्रत्यक्ष संलग्न भएको दाबी गरेका छन्।
भारतले ब्रिटिस पत्रिकामा प्रकाशित सामग्रीमा लगाइएको आरोपबारे प्रतिक्रिया दिएको छैन। यद्यपि त्यसमा भारतीय विदेश मन्त्रालय र विदेशमन्त्री एस जयशंकरले यसअघि गरेको विदेशमा व्यक्तिलक्षित हत्या गर्नु ‘भारत सरकारको नीति नभएको’ दाबीलाई स्थान दिइएको छ।
तर, शुक्रबार रक्षामन्त्री सिंहले ‘भारतमा समस्या उत्पन्न गर्ने प्रयास गर्ने आतंककारीलाई नछोड्ने’ बताए।
‘यदि उनीहरू पाकिस्तान भागे पनि हामी पाकिस्तानमा छिरेर तिनको हत्या गर्छौं,’ द गार्डिअनको समाचारबारे सोधिएको प्रश्नको उत्तर दिँदै सिएनएन न्यूज १८ टिभीलाई उनले भने।
त्यसको केही घन्टापछि पाकिस्तानको विदेश मन्त्रालयले सिंहको टिप्पणीको आलोचना गर्दै एउटा विज्ञप्ति सार्वजनिक ग¥यो।
‘त्यस्तो अदूरदर्शी र अनुत्तरदायी बेहोराले क्षेत्रीय शान्तिलाई बेवास्ता गर्ने मात्र हैन, दीघकालनमा सिर्जनात्मक अन्तरक्रिया गर्ने सम्भावनालाई पनि रोक्छ,’ विज्ञप्तिमा भनिएको छ।(बिबिसीबाट)
Leave a Reply