काठमाडौं- शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षकहरूलाई पठनपाठनमामात्र केन्द्रीत हुन निर्देशन दिएको छ।
शिक्षकहरू पठनपाठनभन्दा दलीय राजनीतिमा लाग्दा नेपालको शैक्षिक स्तर खस्किँदै गएको भन्दै मन्त्रालयले यस्तो निर्देशन दिएको हो।
यस्तै शिक्षक, प्राध्यापक र कर्मचारीहरू राजनीतिक दलको सदस्यता लिएको पाइए शिक्षा ऐनबमोजिम कारबाही हुने मन्त्रालयले चेतावनी दिएको छ।
शिक्षकहरू राजनीतिक गतिविधिमा सक्रिय हुँदा पठनपाठनमा गम्भीर असर परेको भन्दै कारबाहीको माग गर्दै मन्त्रालयमा उजुरी परेको मन्त्रालयले जनाएको छ।
शिक्षा ऐन २०२८ र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ मा सिकाइ क्रियाकलापमा संलग्न शिक्षक, प्राध्यापक र कर्मचारी राजनीतिक दलको सदस्य हुन नपाउने व्यवस्थाबारे मन्त्रालयले स्मरण गराएको छ।
मन्त्री सुमना श्रेष्ठले शिक्षक, प्राध्यापक र कर्मचारीलाई कुनै पनि दलको सदस्यता नलिन र लिएको भए त्याग गर्न निर्देशन दिएकी छन्।
उनले सरकारी तथा सामुदायिक संस्थामा कार्यरत शिक्षक, प्राध्यापक र कर्मचारीहरूले राजनीतिक दलको सदस्य लिएको भेटिए उजुरी दिन आह्वानसमेत गरेकी छन्।
Leave a Reply