DHKHABAR

All news at one place

समाचार

विद्युतीकरणमा नगराईन नगरपालिकाको फड्को, सिक्सलेनदेखि वडासम्म झिलिमिलि

सिक्सलेन सडक

जनकपुरधाम- धनुषाको नगराईन नगरपालिकाले नगर क्षेत्रको विद्युतीकरणमा फड्को मारेको छ।

नगर क्षेत्रको प्रत्येक वडालाई विद्युतीकरण गर्ने योजनामा नगरपालिकाले फड्को मारेको हो।

विद्युतीकरण योजनाअन्तर्गत नगरपालिकाले पालिकाको सीमा क्षेत्रमा पर्ने जनकपुर–जटही सिक्सलेन सडक खण्डमा बिजुली जडान गरेको छ।

नगरपालिकाले दक्षिणमा जटहीदेखि उत्तर गगुंली पुलसम्म पोल लगाएर बिजुली जडान गरेको हो।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामगुलाम कर्णले पालिकाको सीमा क्षेत्रभित्र पर्ने जटहीदेखि गंगुली पुलसम्म ३९५ वटा पोल हालेर सिक्सलेन सडकमा विद्युतीकरण गरिएको जानकारी दिए।

उनका अनुसार सिक्सलेन सडकमा जडान गरिएको सबै ३९५ वटा पोलको दुवैतर्फ ५०–५० वाट गरी सय वाटको बल्ब जडान गरिनेछ।

अधिकांश पोलहरूमा बल्ब जडान भएर परीक्षणसमेत भएको बताउँदै कर्णले चैतको अन्त्यबाट नियमित रूपमा कार्यान्वयनमा आउने जानकारी दिए।

सिक्सलेन सडकमा विद्युतीकरण गर्न पालिकाले २ करोड रूपैयाँ बराबरको ई–बिडिङ गरेकोमा एमएस इलेक्ट्रोनिक्स एन्ड इलेक्ट्रिकल कम्पनी बुटवलसँग १ करोड ४८ लाखमा सम्झौता भएको उनले कर्णले बताए।

गत वर्ष जेठमा टेन्डर निकालेको पालिकाले एमएस इलेक्ट्रोनिक्स एन्ड इलेक्ट्रिकललाई काम सुरू गर्न कात्तिकमा कार्यदेश दिएको थियो।

नगरपालिकाले सिक्सलेन सडकको बिजुलीका लागि छुट्टै ट्रान्सफर्मरको व्यवस्थापन गरिदिन नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र जनकपुरसँग अनुरोध गरेको छ।

‘सिक्सलेन सडकका लागि सेन्सरजडित ट्रान्सर्फमरको छुट्टै व्यवस्था गरिदिन विद्युत प्राधिकरणलाई अनुरोध गरेका छौं, उहाँहरूले चाँडै ट्रान्सर्फमर जडान गर्ने बताउनुभएको छ,’ कर्णले भने।

कर्णका अनुसार सेन्सरजडित ट्रान्सफर्मर नगराईन चोकमा जडान हुनेछ। सेन्सर भएकाले दिनको समयमा विद्युत आपूर्ति आफैं बन्द हुने उनले बताए।

सिक्सलेन सडकका साथै पालिकाले प्रत्येक वडामा विद्युतीकरण योजनालाई अगाडि बढाएको छ।

योजनाअन्तर्गत प्रत्येक वडामा ९ देखि १३ वटा टावरलाइट जडान गरिने प्रमुख प्रशासकीय अधिकृत कर्णले जानकारी दिए।

कुल ९ वटा रहेकोमा क्षेत्रफल र जनघनत्वअनुसार प्रत्येक वडामा ९ देखि १३ वटा टावरलाइट जडान गर्ने कार्य पनि अघि बढिसकेको उनले बताए।

९ वटा वडामा १०१ टावरलाइट जडान गर्न १ करोड ४७ लाख रूपैयाँमा एमएस इलेक्ट्रोनिक्स एन्ड इलेक्ट्रिकल कम्पनीसँग सम्झौता भएको छ।

२ करोडको इ–बिडिङ भएकोमा एमएस इलेक्ट्रोनिक्स एन्ड इलेक्ट्रिकल कम्पनीले १ करोड ४७ लाखमा सम्झौता गरेको नगरपालिकाले जनाएको छ।

SHARINGS

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *