चीन भ्रमणले दुई देशबीचको मित्रवत् सम्बन्धलाई थप उचाइमा पुर्‍याएको छ : श्रेष्ठ

काठमाडौं- उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नो चीन भ्रमणले दुई मुलुकबीच आपसी सदभाव, सम्मान र विश्वासलाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेलेको बताएका छन्।

चीनको औपचारिक भ्रमण पूरा गरी सोमबार स्वदेश फर्किएका मन्त्री श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन्।

उनले भ्रमणबाट दुई देशको विद्यमान ऐतिहासिक मित्रवत् सम्बन्धलाई अझ उचाइमा पु¥याएको बताए।

भ्रमणका क्रममा दुई देशबीचको आपसी सहयोग र सहकार्यका क्षेत्रमा विस्तृत र स्पष्ट छलफल भएको श्रेष्ठले जानकारी दिए।

भ्रमणले नेपाल र चीनबीच विद्यमान सदियौं पुरानो, बहुआयामिक र मित्रवत सम्बन्धलाई थप सुदृढ बनाउन मदत गरेको उनको भनाइ छ।

सन् २०१२ मा दुई देशबीच भएको सम्झौताबमोजिम सीमा क्षेत्रमा बसोबास गर्ने नेपालीलाई चीनको तिब्बतमा चरन भूमि प्रयोग गर्न दिन र सीमावर्ती केही नेपाली गाउँमा विद्युतीकरण गर्न चिनियाँ पक्ष सकारात्मक भएको श्रेष्ठले जानकारी दिए।

यस्तै नेपालको काठमाडौं र चीनको तिब्बत स्वशासित क्षेत्रको ल्हासाबीच सिधा बस सेवा पुनः सञ्चालन गर्न दुवैपक्ष सकारात्मक भएको भैंसीको मासु, वनस्पतीजन्य औषधि उत्पादन, तरकारी र फलफूललगायतका नेपाली वस्तुहरूको निर्यातमा सहजीकरणका लागि चिनियाँ पक्षले सहयोगको प्रतिबद्धता जनाएको मन्त्री श्रेष्ठले बताए।

भ्रमणका क्रममा नेपालको काठमाडौं र पोखरा तथा चीनका विभिन्न सहरबीच थप हवाइ उडान सञ्चालनमा ल्याउन दुवै पक्ष सहमत भएका छन्।

यस्तै अन्तरदेशीय सडक, रेल्वे, हवाइ उडान, विद्युत प्रसारण लाइन आदिको विस्तार गरी नेपाल चीनबीचको कनेक्टिभिटीलाई थप विस्तार गर्न दुवै पक्षले तत्परता देखाएका छन्।

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *