कांग्रेस महामन्त्री थापाले सुरु गरे दोस्रो चरणको संवाद यात्रा

नवलपरासी- नेपाली कांग्रेसका महामन्त्री गगन थापाको दोस्रो चरणको संवाद यात्रा बिहीबार विहान नवलपरासीको गौरीगञ्जबाट सुरु भएको छ।

स्थानीय चोकमा रहेको विपी कोईरालाको प्रतिमामा माल्यार्पण गरेर उनले संवाद यात्रा सुरु गरेका हुन्।

यसअघि गत माघ १३ गते झापाको मेची पुलबाट सुरु भएको संवाद यात्रा माघ २२ गते नवलपरासीको गोपीगञ्जमै पुगेर रोकिएको थियो।

दोस्रो चरणको संवाद यात्रा आज, भोली र पर्सी नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ र बाँकेका विभिन्न ठाउँहरूमा हुने कांग्रेस केन्द्रीय सदस्य अजयवावु शिवाकोटीले जानकारी दिए।

महामन्त्री थापाले संवाद यात्रामा स्थानीयसँग छलफल गर्ने र उनीहरुका समस्याहरु सुन्ने गरेका छन्। यात्राका क्रममा आफूले बोल्नेभन्दा पनि स्थानीयका कुरा सुन्ने, विकास निर्माणका कार्यहरुको निरीक्षण गर्ने, स्थानीयको घरदैलोमा पुग्ने थापाको योजना छ।

सुरुदेखि नै हुलाकी मार्गमा भइरहेको संवाद यात्राअन्तर्गत आज महामन्त्री थापा नवलपरासीको गोपीगञ्जपछि पट्खौली हुँदै जिल्ला पार्टी कार्यालय पुगेर रुपन्देही प्रस्थान गर्नेछन्।

आजै रुपन्देहीको धकधही, भैरहवा, जिल्ला पार्टी कार्यालय हुँदै बेथरी सम्म पुग्ने कार्यक्रम रहेको छ। भैरहवामा उनले उद्योग व्यवसायीसँग संवाद गर्नेछन् भने बेथरीमा स्थानीय सरोकारका विषयमा छलफल गर्नेछन्।

भोलि १६ गते रुपन्देहीको लुम्बिनी बौद्ध विश्वविद्यालयमा प्राज्ञिक अन्तरक्रियाबाट संवाद यात्रा सुरु भई कपिलवस्तु प्रवेश गर्नेछ।

थापा नेतृत्वको संवाद यात्रा टोलीले १६ गते नै कपिलबस्तुको लबनी, जिल्ला पार्टी कार्यालय, महाराजगञ्जको पालिका कार्यालय हुँदै चन्द्रौटासम्म संवाद गर्नेछ।

त्यसैगरी १७ गते बिहान दाङको गोवरडिहामा थारु संवादबाट सुरु हुने संवाद यात्रा जङ्ग्रहवा हुँदै बाँके प्रस्थान गर्नेछ।

बाँकेमा उनले १७ गते सिक्टा सिँचाई आयोजनाको अवलोकन गर्ने र फत्तेपुरमा जनसंवाद गर्ने यात्रामा सँगै रहेका नेविसंघका पूर्व महामन्त्री युवराज पाण्डेले जानकारी दिए।

कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलकाअनुसार समुदायमा कांग्रेस अभियानअन्तर्गत नै महामन्त्री थापाले यो संवाद यात्रालाई निरन्तरता दिएका हुन्।

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *