जनकपुरधाम- दशगजा क्षेत्र दुवै देशका नागरिकहरूले भरिभराउ थियो।
होलीको माहोलमा दशगजामा दुवैतर्फका सर्वसाधारणहरू भेला भएको देखेपछि धेरैलाई अचम्म पनि लागिरहेको थियो।
त्यही दशगजाको बीचमा सज्जिएको पालभित्र थिए नेपाल तथा भारतका सीमा सुरक्षाबलका अधिकारीहरू।
दुवै देशका सीमा सुरक्षा अधिकारीहरू एउटै पालमुनि बसेको दृष्यले सर्वसाधारणहरूमा कौतुहलता जगाइरहेको थियो।
किन र केका लागि नेपाल र भारतको सीमा सम्हाल्ने जिम्मेवारी भएका अधिकारीहरू एकै ठाउँमा जम्मा भएका छन् भनेर उनीहरू कानेखुसी गरिरहेका थिए।
आमनागरिकको यो कौतुहलता धेरैबेर टिक्न सकेन। सबथोक छोटो अन्तरालमै प्रष्ट भयो।
अवसर थियो– सशस्त्र प्रहरी बल नेपाल र भारतको सीमा सुरक्षा बल (एसएसबी) ले संयुक्त रूपमा जनकनन्दनी गाउँपालिका नजिकको दशगजा क्षेत्रमा आयोजना गरेको होलीको कार्यक्रम।
सीमाको सुरक्षाका साथै आपराधिक क्रियाकलाप, तस्करीलगायतका गतिविधिलाई नियन्त्रण गर्न अहोरात खटिरहने दुवै देशका अधिकारीहरू छाटो समय निकालेर एकअर्कालाई होलीको शुभकामना दिए।
सशस्त्र प्रहरी बलका अधिकारीहरूले भारतीय अतिथिहरूलाई मात्रै नभएर दशगजामा जम्मा भएका सर्वसाधारणहरूलाई समेत अबिर लगाएर होलीको शुभकामना दिए।
होलीको रङ्गारङ्ग कार्यक्रममाझ सर्वसाधारणहरूसँगै दुवै देशका सुरक्षाअधिकारीरूको नृत्यले माहोललाई थप रोमाञ्चक बनाएको थियो।
सशस्त्र प्रहरी बल प्रदेस २ का प्रमुख डिआइजी दीपेन्द्र शाह, सशस्त्र प्रहरी बल धनुषाका एसपी दर्शन गिरी र एसएसबीका कमान्डेन्डेन्ट गोविन्दसिंह भण्डारीलगायतका उच्चपदस्थ अधिकारीहरू एकअर्काको अनुहारमा अबिर लगाएर शुभकामना दिए।
सशस्त्र प्रहरी बलका डिआइजी शाहले नेपाल र भारतबीच सदियौंदेखि सांस्कृतिक, सामाजिक र बेटीरोटीको सम्बन्ध रहेको उल्लेख गर्दै यो सम्बन्धले निरन्तरता पाइरहनुपर्ने उल्लेख गरे।
‘होलीको अवसरमा आयोजना गरिएको यो कार्यक्रमले हामीबीच सौहाद्रता बढाएको छ नै, यसबाहेक पनि हाम्रो सम्बन्ध प्रगाढ बनिरहन्छ भन्ने मलाई विश्वास छ,’ उनले भने।
सशस्त्र प्रहरी बल धनुषाका एसपी गिरीले दुवै देश र नागरिकबीच थप समझदारी पुगोस् भन्ने उद्देश्यका साथ दशगजामा होलीको कार्यक्रम राखिएको बताए।
त्यस्तै एसएसबीका कमान्डेन्डेन्ट भण्डारीले नेपाल–भारतबीच वर्षौंदेखिको सम्बन्ध रहेको बताउँदै यस्ता कार्यक्रमहरूले यो सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गरे।
कटुतापूर्ण सम्बन्ध रहेको भारत–पाकिस्तानका सीमा सुरक्षा अधिकारीहरूले होली, दीपावलीलगायतका पर्वमा एकअर्कालाई शुभकामना अदानप्रदान गर्ने गरेको भए पनि नेपाल–भारतको दशगजामा सम्भवतः पहिलोपटक यस्तो कार्यक्रम भएको हो।
Leave a Reply