काठमाडौं- सरकारले जुनसुकै कालखण्डमा भएको भ्रष्टाचार छानबिन गर्ने भएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट मंगलबार गठबन्धनको साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्दै यस्तो घोषणा गरिएको हो।
गठबन्धनको साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्दै एमाले उपाध्यक्ष विष्णु पौडेलले भ्रष्टाचारी एकदिन कानुनको कठघारामा पुग्ने विश्वास सरकारले जनतामा स्थापित गर्ने बताए।
कुनै पनि कालखण्डमा भएको भ्रष्टाचारमाथि छानबिन गरी दोषीमाथि कानुन कारबाही अगाडि बढाउने उनले उल्लेख गरे।
‘कुनै पनि कालखण्डमा भएको भ्रष्टाचार र जो कोही भ्रष्टाचारमाथि कानुनी कारबाही अगाडि बढाउने, भ्रष्टाचारी एक दिन कानुनको कठघारामा पुग्ने भन्ने विश्वास समाजमा स्थापित गर्नेछ,’ उनले भने।
सत्ता गठबन्धनका पाँच राजनीतिक दलले सरकारको ‘न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प’ नाम दिएको न्यूनमत साझा कार्यक्रममा संविधानको मर्म र भावनाविपरित राज्यसञ्चालनमा देखिएका विचलन रोकी संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्न विद्यमान शिथिलता, दण्डहीनता एवं व्यावसायिक निराशालाई चिर्दै जनतामा राज्यप्रति आशा र भरोसा पैदा गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
सरकारले आर्थिक शिथिलता अन्त्य गर्ने, वित्तीय संस्थालाई विसंगतिमुक्त बनाउने, सार्वजनिक संरचना सुधार गर्ने, छरितो सेवा प्रवाहसँगै सुशासन कायम गर्ने, स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने, शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षालाई व्यवस्थित गर्ने, विषय न्यूनतम कार्यक्रममा उल्लेख गरिएको छ।
Leave a Reply