बनारसमा ज्ञानवापी मस्जिदको भूमिगत तल्लामा हिन्दूहरूले कसरी पाए पूजा गर्ने अधिकार?

काठमाडौं – भारतको उत्तर प्रदेसस्थित वाराणसी अदालतको आदेशपछि काशी विश्वनाथ मन्दिरसँगै जोडिएको एउटा मस्जिदको भूमिगततलामा हिन्दू विधिअनुसार पूजाआजा हुन थालेको छ।

वाराणसी जिल्ला अदालतले ज्ञानवापी मस्जिद परिसरभित्र सात दिनभित्र पूजा गर्ने चाँजोपाँजो मिलाउन जिल्ला प्रशासनलाई आदेश दिएको थियो।

आदेश आएको केही घन्टाभित्रै प्रशासनले बुधबार राति नै पूजा गर्ने प्रबन्ध मिलाएको थियो।

वकिल उमाशंकर जैनले यो निर्णयलाई यसअघि राम मन्दिरमा ताला खोल्न दिइएको आदेशसँग तुलना गर्दै मुद्दाको महत्वपूर्ण उपलब्धि मानेका छन्।

हिन्दू पक्षले केही समयदेखि ज्ञानवापी भवनको ‘व्यास’ तल्लामा पूजा गर्ने अधिकार माग गर्दै आएको थियो।

कसरी सुरू गराइयो पूजा

अदालतको आदेशानुसार उक्त स्थानमा फेला परेका मूर्तिको मात्र पूजा गराउनुपर्ने भएकाले प्रबन्ध मिलाउने काम चुनौतीपूर्ण थियो।

स्थानीय प्रशासनले सरकारी ढुकुटीमा राखिएका ती मूर्तिको पहिचान गरी उक्त स्थानमा लगेको थियो।

त्यस क्रममा काशी विश्वनाथ मन्दिर जाने बाटोलाई पूरै खाली गराइएको थियो। प्रायः उक्त क्षेत्रमा २० हजारभन्दा बढी श्रद्धालु हुने भएकाले केही समय लागेको थियो।

वाराणसी जिल्लाका प्रशासक र प्रहरी प्रमुखले काशी विश्वनाथ मन्दिर प्रबन्धन समिति तथा नजिकै रहेको प्रहरी कार्यालयका अधिकारीहरूसँग परामर्श गरेर तारबार काट्ने र राति पूजा गराउने निर्णय गरेको बिबिसीलाई जनाएको छ।

प्रशासनका अनुसार पूजा गर्ने ठाउँसम्म जान फलामको छेकबार हटाएर फलामको ढोका अनि भूमिगत तल्लामा बत्ती हालिएको थियो।

लामो समयदेखि रोकिएको पूजा फेरि थाल्न के गर्नुपर्छ भनेर केही विज्ञसँग परामर्श पनि गरिएको जनाइएको छ।

प्रशासनका अनुसार काशी मन्दिरका पुजारी ओमप्रकाश मिश्रले त्यहाँ पूजा गराएका हुन्।

यी सबै गतिविधि हुँदा त्यहाँ या मुद्दा दायर गर्ने पक्षका कोही व्यक्ति पनि उपस्थित थिएनन्।

पूजा गरिएका मूर्तिमा विभिन्न देवताका प्रतिमा छन्। तिनमा एउटा शिवलिङ्ग दुइवटा हनुमानका मूर्ति अनि विष्णु र गणेशका एकएकवटा प्रतिमा, राम लेखिएको एउटा शिला र गंगामाताको एउटा मकर छन्।

प्रशासनका अनुसार ती सबै मूर्ति खण्डित छन्। अर्थात सग्ला छैनन्।

मूर्तिहरू राखिएको स्थानमा अहिले केवल एक पुजारीलाई जाने अनुमति दिइएको छ।

आफ्नो निवेदनमा हिन्दू पक्षले ‘परिसरको दक्षिणी भागमा रहेको भूमिगत तल्लामा मूर्तिपूजा हुने गरेको र सन् १९९३ डिसेम्बरपछि पुजारीलाई ज्ञानवापीको तारबार लगाइएको क्षेत्रमा प्रवेश गर्न रोक लगाइएसँगै सबै संस्कार पनि बन्द भएको’ दाबी गरिएको छ।

राज्य सरकार र जिल्ला प्रशासनले विनाकारण भूमिगत तल्लामा पूजा गर्न प्रतिबन्ध लगाएको हिन्दू पक्षको दाबी छ।

हिन्दू पक्षले ब्रिटिस उपनिवेशकालमा पनि आफूहरूले त्यहाँ पूजा गर्दै आएको दाबी गरेको छ।

निवेदकहरूले भूमिगत तल्लामा विभिन्न देवीदेवताका मूर्तिसहित धार्मिक महत्वका अन्य सामग्री सुरक्षित रहेको दाबी गरेका छन्।

हिन्दू पक्षले भूमिगत तल्लामा रहेका मूतिहरूको नियमित पूजा गर्न पाउनुपर्ने माग गरेका थिए।

आफ्नो मुद्दामा हिन्दू पक्षले भूमिगत तल्लामा पूजा गर्ने व्यवस्थाका लागि एक सहजकर्ता नियुक्त गर्र्न माग गरेको थियो।

वाराणसी जिल्ला न्यायाधीश अजय कृष्ण विश्वेशले हिन्दू पक्षको मागलाई स्वीकार गर्दै वाराणसी जिल्लाका प्रशासकलाई ज्ञानवापी मस्जिदको उक्त विवादिन सम्पदास्थलमा हिन्दूहरूले पूजा गर्ने प्रबन्ध मिलाउन सहजकर्ता नियुक्त गरेका थिए। (बिबिसीबाट)

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *