दीपक मनाङेले पार्टी छाडेपछि गण्डकीको राजनीतिमा तरंग

जनकपुरधाम- गण्डकी प्रदेससभा सदस्य दीपक मनाङेले पार्टी छाडेको घोषणा गरेपछि गण्डकीको राजनीति तरंगित भएको छ।

नेकपा(एकीकृत समाजवादी) का प्रदेससभा सदस्य मनाङेले पार्टी परित्यागको घोषणा गरेपछि गण्डकीको राजनीति तरंगित हुँदै नयाँ मोड लिएको हो।

मनाङबाट स्वतन्त्र जितेका उनी एकीकृत समाजवादी प्रवेश गरेका थिए।
नयाँ गठबन्धनले सरकार गठनको तयारी गरिरहँदा मनाङेले एकीकृत समाजवादी परित्याग गरेको घोषणा गरेका हुन्।

उनले एकीकृत समाजवादी परित्याग गरेको भन्दा गण्डकी प्रदेससभा सचिवालयमा पत्र पठाएर जानकारी गराएका छन्।

गण्डकीमा नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकार माओवादी केन्द्रले समर्थन फिर्ता लिइसकेपछि अल्पमतमा छन्।

केन्द्रमा समीकरण फेरिएसँगै पाण्डेले माओवादीका दुई मन्त्रीलाई बर्खास्त गरेका थिए। त्यसलगत्तै माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।

मुख्यमन्त्री पाण्डे यतिबेला विश्वासको मत लिनुपर्ने अवस्थामा छन्।

६० सदस्यीय गण्डकी प्रदेससभामा कांग्रेसका २७, एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित ८, राप्रपाका २ र स्वतन्त्र सांसद मनाङे प्रदेससभा सदस्य छन्।

विश्वासको मत प्राप्त गर्न कम्तिमा ३१ सांसदको समर्थन आवश्यक हुन्छ। कांग्रेस एक्लैको मतले मुख्यमन्त्री पाण्डे विश्वासको मत प्राप्त गर्ने अवस्थामा छैनन्।

त्यस्तै एमाले–माओवादीको गठबन्धन पनि सजिलै सरकार बनाउने अवस्थामा छैन।

दुई प्रदेससभा सदस्य रहेको राप्रपा गण्डकीमा सरकार गठनका लागि निर्णायक देखिएको छ।

तर, मनाङे पनि स्वतन्त्र बसिदिँदा अहिलेको सत्तासमीकरणको सरकार सजिलै बन्ने स्थिति देखिँदैन।

राप्रपा र मनाङे जता ढल्किए उतै सरकार बन्ने अवस्था गण्डकीमा सिर्जना भएको छ।

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *