मधेस प्रदेस : कांग्रेसका मन्त्रीहरूले राजीनामा नगर्ने, ‘बर्खास्तगी’ कुर्ने

जनकपुरधाम- मधेस प्रदेस सरकारमा सामेल नेपाली कांग्रेसका मन्त्रीहरूले राजीनामा नदिने भएका छन्।

केन्द्रमा गठबन्धन फेरिएपछि प्रदेसमा पनि सरकार परिवर्तन हुनसक्ने आकलन भइरहेका बेला कांग्रेसका मन्त्रीहरू आफैं राजीनामा नदिने निष्कर्षमा पुगेका हुन्।

प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमालेलगायतका दलसँग गठबन्धन गरेपछि संघीय सरकारदेखि प्रदेससम्म नयाँ राजनीतिक समीकरणको बाछिटा पर्ने देखिएको छ।

प्रचण्डले गठबन्धन फेरेसँगै संघीय सरकारमा मन्त्रिपरिषद पुनर्गठन गरे पनि प्रदेसहरूमा मन्त्रीहरू हेरफेर गरिएको छैन।

गण्डकीका मुख्यमन्त्रीले सरकारमा सामेल माओवादीका दुई मन्त्रीहरूलाई तत्कालै बर्खास्त गरेका थिए भने कर्णालीमा कांग्रेसका तीन मन्त्रीले राजीनामा दिएर सरकारबाट समर्थन फिर्ता लिएका थिए।

तर, मधेस प्रदेसमा हालसम्म मुख्यमन्त्री सरोजकुमार यादवले कांग्रेसका मन्त्रीहरूलाई बर्खास्त गरेका छन्, न उनीहरूले राजीनामा नै दिएका छन्।

मुख्यमन्त्री यादवले भने सरकारमा सामेल कांग्रेसका मन्त्रीहरूलाई भने राजीनामा दिन आग्रह गरेको बताइएको छ।

केन्द्रमा सत्तासमीकरण फेरिएपछि त्यसैअनुरूप मन्त्री पदबाट राजीनामा गर्न मुख्यमन्त्री यादवले आग्रह गरेका हुन्।

कांग्रेसका मन्त्रीहरू आफैंले राजीनामा नगर्ने बरू मुख्यमन्त्रीले नै बर्खास्त गर्नुपर्ने पक्षमा देखिएका छन्।

कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले सरकारमा सामेल पार्टीका मन्त्रीहरूलाई राजीनामा नदिन निर्देशन दिएको बताए।

‘हामीले गठबन्धन तोडेको होइन, उहाँहरू आफैंले गठबन्धन फेर्नु भएको छ,’ सहमहामन्त्री यादवले भने, ‘मुख्यमन्त्रीजीले राजीनामा दिन आग्रह गर्नु भएको छ। हामीले हाम्रा मन्त्रीहरूलाई राजीनामा नदिन भनेका छौं। मुख्यमन्त्रीजी आफैंले हटाउनुपर्‍यो।’

प्रधानमन्त्री प्रचण्डले कांग्रेससँग गठबन्धन तोडेर एमालेसँग तालमेल गरेपछि संघीय सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरूले पनि राजीनामा दिएका थिएनन्।

प्रचण्डले मन्त्रिपरिषद पुनर्गठन गरेपछि उनीहरू स्वतः पदमुक्त भएका थिए।

केन्द्रकै शैलीमा प्रदेस सरकारमा सामेल कांग्रेसका मन्त्रीहरू पनि आफैं राजीनामा नदिने अडानमा छन्।

‘हामीले राजीनामा दिँदैनौं। हाम्रो कारणले गठबन्धन तोडिएको होइन, मुख्यमन्त्री आफैंले बर्खास्त गर्नुपर्‍यो,’ कांग्रेसका एक मन्त्री भन्छन्,‘मुख्यमन्त्रीले के गर्नुहुन्छ हामी कुरेर बसिरहेका छौं।’

सत्तासमीकरण फेरिएपछि संघीय सरकारले कांग्रेसका तर्फबाट तीन जना प्रदेस प्रमुखहरूलाई पदमुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरिसकेको छ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले मधेस प्रदेस, गण्डकी र सुदूरपश्चिम प्रदेसका प्रदेस प्रमुखहरूलाई पदमुक्त गर्ने निर्णय गरेको थियो।

तीन जना प्रदेस प्रमुखहरू पदमुक्त भएसँगै प्रदेस सरकारको समीकरण पनि फेरिने र कांग्रेसका मन्त्रीहरू बाहिरिने लगभग पक्का छ।

मधेस प्रदेस सरकारमा सामेल कांग्रेसका मन्त्रीहरूले आफैं राजीनामा नगरे मुख्यमन्त्री यादवले उनीहरूलाई एक दुई दिनभित्रै बर्खास्त गर्ने तयारी गरेको बताइएको छ।

मधेस प्रदेस सरकारमा कांग्रेसका तर्फबाट कृष्णकुमार यादव, वीरेन्द्रप्रसाद सिंह र समीम मोहम्मद तीन जना मन्त्री छन्।

 

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *