जनकपुरधाम- अख्तियार दुरूपयोग आयोगले स्यानिटरी प्याडमा भ्रष्टाचार गरेको आरोपमा धनुषा सहिदनगर नगरपालिकाका तत्कालीन प्रमुख उदयकुमार यादव (बरबरिया) विरूद्ध मुद्दा दायर गरेको छ।
अख्तियारले आइतबार तत्कालीन प्रमुख बरबरिया, उपप्रमुख शिलादेवी कापरसहित ९ जनाविरूद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।
आर्थिक वर्ष २०७७ / ७८ मा सशर्त अनुदानको बजेटबाट स्यानिटरी प्याड खरिद गर्दा गुणस्तरहीन पाइएको ठहर गर्दै अख्तियारले उनीहरूविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।
अख्तियारले स्यानिटरी प्याड खरिदमा १३ लाख ९३ हजार ६८७ रूपैयाँ राज्यकोषमा हानी भएको भन्दै त्यति नै बिगो कायम गरेर भ्रष्टाचार मुद्दा दायर गरेको छ।
जनकपुरधामस्थित रेजा ट्रेडिङ प्रालिसँग स्यानिटरी प्याड खरिद गर्दा सम्झौता गर्नुअगावै भुक्तानी गरेको, शिलबन्दी दरभाउपत्र आह्वानको सूचनामा स्यानिटरी प्याडको आवश्यक संख्या नुखलेको तर सम्झौता हुनअगावै र कहीँ कतै संख्या स्पष्ट नहुँदै रेजा ट्रेडिङ प्रालिले स्यानिटरी प्याड आपूर्ति गरेको देखिएको, शिलबन्दी दरभाउपत्र आह्वानको सूचना प्रकाशित भएको भनिएको रेजा टुेडे पत्रिकामा सहिदनगर नगरपालिकाको कुनै पनि सूचना प्रकाशित भएको नपाइएको अख्तियारले जनाएको छ।
रेजा टुडे पत्रिकाका प्रकाशकसमेत रहेका रेजा ट्र्ेडिङका सञ्चालक अकबर मन्सुरसँग मिलेमतोमा भुटा विवरण पेस गरी १३ लाख ९३ हजार ६८७ रूपैयाँ भुक्तानी दिने कार्य भएको अख्तियारको ठहर छ।
नगरपालिकाका तत्कालीन प्रमुख यादवसहित उपप्रमुख शिलादेवी कापर, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शत्रुध्न यादव, तत्कालीन लेखापाल लोकबहादुर नेपाली, तत्कालीन जिन्सी शाखा प्रमुख सुदिपकुमार भट्टराई, तत्कालीन स्वास्थ्य संयोजक कपिलदेवप्रसाद अधिकारी, श्री माध्यमिक विद्यालय हठ्ठीपुरवाहाका प्रधानाध्यापक श्रीकृष्ण भिनवार, सबइन्जिनियर सरोजकुमार महतो र रेजा ट्रेडिङ प्रालिका प्रोपराइटर एवं रेजा टुडे पत्रिकाका प्रकाशक अकबर मन्सुरविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।
यो मुद्दामा अख्तियारले सबै प्रतिवादीसँग जनही १३ लाख ९३ हजार ६८७ रूपैयाँ असुलउपरका साथै भ्रष्टाचार निवारण ऐनअनुसार सजाय तोक्न मागदाबी लिएको छ।
Leave a Reply