दक्षिण कोरियामा हजारौं चिकित्सक हडतालमा

काठमाडौं- दक्षिण कोरियाका हजारौं चिकित्सक हडतालमा उत्रिएका छन्।

त्यहाँका झन्डै तीनचौथाइ कनिष्ठ चिकित्सकहरू हडतालमा उत्रिएर कामकाज ठप्प पारेका हुन्।

दक्षिण कोरिया सरकारले बिहीबारदेखि काममा नफर्किए हडताल गरिरहेका चिकित्सकहरूलाई पक्राउ गर्न र उनीहरूको मेडिकल लाइसेन्स खारेज गर्न चेतावनी दिएको छ।

चिकित्सकहरू आन्दोलनमा उत्रिएपछि ठूला अस्पतालहरूमा सेवा प्रभावित भएको छ।

स्वास्थ्यप्रणालीमा चिकित्सकहरूको संख्या बढाउन विश्वविद्यालयहरूमा चिकित्साशास्त्रमा थप विद्यार्थी भर्ना लिने सरकारको योजनाविरूद्ध प्रशिक्षार्थी चिकित्सकहरूले हडताल गरेका हुन्।

अन्य विकसित देशहरूको तुलनामा दक्षिण कोरियामा बिरामीको अनुपातमा चिकित्सकको संख्या निकै कम छ।

न्यून संख्या र पाका उमेरका मानिसको बढ्दो जनसंख्याका कारण एक दशकपछि त्यहाँ चिकित्सकको ठूलो अभाव हुनसक्ने सरकारको तर्क छ।

यो साता सोलस्थित सेन्ट मेरिज अस्पताल निकै खाली देखियो। त्यसले भविष्य कस्तो हुन्छ भन्ने झल्को दिएको छ। त्यहाँ बिरामीहरूलाई नआउन सूचित गरिएको थियो।

अस्पतालको आकस्मिक कक्षबाहिर चिकित्सक र बिरामी देखा परेनन्।

दक्षिण कोरियामा चिकित्सकहरूको पारिश्रमिक तुलनात्मक रूपमा उच्च छ। तर, लामो अवधि काम गर्नुपर्ने हुँदा कनिष्ठ चिकित्सकहरूले प्रतिघन्टा पाउने पारिश्रमिक सरकारले तोकेको न्यूनतम तलबभन्दा कम हुने आन्दोलनरत चिकित्सकहरूको भनाइ छ।

चिकित्सकको संख्या बढाउँदैमा कम पैसमा बढी कामको यो संरचनागत समस्या समाधान नहुने उनीहरूको तर्क छ।

दक्षिण कोरियामा धेरै स्वास्थ्यसंस्थाहरू निजी भए पनि सस्ता छन्। तर, देशमा आकस्मिक, जीवनरक्षा गर्ने शल्यक्रिया तथा विशेषज्ञ उपचारको शुल्क निकै कम निर्धारण गरिएको र कस्मेटिकजस्ता कम आवश्यक उपचारहरूमा धेरै पैसा भएको आन्दोनलनरत चिकित्सकहरूको गुनासो छ।

यसले धेरै चिकित्सकहरूलाई सहरतर्फ आकर्षित गरेको छ र ग्रामीण अस्पतालहरूमा जनशक्तिको अभाव सिर्जना गरेको छ। (बिबिसीबाट)

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *