जनकपुरधाम- जनता समाजवादी पार्टी (जसपा) नेपाल पार्टी टुक्र्याउने सात जना सांसदलाई प्रधानमन्त्रीले लिन लागेको विश्वासको मतको प्रक्रियामा रोक्न सर्वोच्च अदालत पुगेको छ।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी फुटाउने सात जना सांसदलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सोमबार लिन लागेको विश्वासको मतको प्रक्रियामा सहभागी नगराउन माग गर्दै सर्वोच्च पुगेका हुन्।
अध्यक्ष यादवले दायर गरेको रिट दर्ता भइसकेको र भोलिका लागि पेसी तोकिएको सर्वोच्चका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिए।
जसपा नेपालका प्रवक्ता मनिष सुमनले सर्वोच्चको यसअघिको आदेशअनुसार रिट दायर गरेको जानकारी दिए।
यसअघि सर्वोच्चले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीलाई यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो। रिटमाथि पूर्ण सुनुवाइका लागि ८ जेठमा पेसी तोकिएको छ।
जसपा नेपालबाट फुटेर दर्ता भएको जसपालाई यथास्थितिमा राख्न सर्वोच्चले दिएको अल्पकालीन अन्तरिम आदेश कार्यान्वयनको माग गर्दै यादव सर्वोच्च पुगेका हुन्।
प्रधानमन्त्री प्रचण्डले सोमबार विश्वासको मत लिनका लागि व्यवस्था मिलाउन संसद सचिवालयमा पत्र पठाएका छन्।
जसपा नेपालबाट छुट्टिएर सात जना सांसदले २३ वैशाखमा ‘नेपाल’ शब्द हटाएर जनता समाजवादी पार्टी(जसपा) दर्ता गराएका थिए।
निर्वाचन आयोगले जसपालाई २४ वैशाखमा नयाँ दलको मान्यता दिएको थियो। आयोगको यो निर्णयविरूद्ध यादवले सर्वोच्चमा रिट दायर गरेका थिए।
जसपा नेपालबाट अलग भएर अशोक राईको नेतृत्वमा बनेको नयाँ दल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी भएको छ।
जसपा नेपालका अध्यक्ष यादवले अलग दल बनाएका प्रतिनिधिसभा सदस्यहरू राई, नवलकिशोर साह सुडी, रञ्जुकुमारी झा, वीरेन्द्रकुमार महतो, प्रदीप यादव, हसीना खान र सुशिला श्रेष्ठलाई विश्वासको मत लिने प्रक्रियामा सहभागी नगराउन सभामुख देवराज घिमिरेलाई पनि ध्यानाकर्षण गराएका छन्।
आइतबार संघीय संसद सचिवालयमा पत्र दर्ता गराएर यादवले ‘…प्रधानमन्त्रीले लिने विश्वासको मतको प्रक्रियालगायत प्रतिनिधिसभाको कुनै पनि गतिविधिहरूमा सर्वोच्च अदालतबाट अन्तरिम आदेश नआउन्जेल सामेल गराउन नमिल्ने भएकाले सो व्यहोराको सुचितसहित जानकारी गराउँदै सम्मानित सर्वोच्च अदालतको अन्तरिम आदेशसमेतको पालनाका लागि हार्दिक अनुरोध छ’ सभामुखलाई ध्यानाकर्षण गराएका हुन्।
राई नेतृत्वको जसपाबाट प्रदीप यादव स्वास्थ्य, नवलकिशोर साह सुडी वन र हसिना खान वन राज्यमन्त्री छन्।
Leave a Reply