१४ महिनामा तेस्रोपटक विश्वासको मत लिँदै प्रचण्ड

जनकपुरधाम-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बुधबार संसदमा विश्वासको मत लिँदैछन्।

बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा उनले विश्वासको मत लिन लागेका हुन्।

प्रधानमन्त्री नियुक्त भएको १४ महिनाको अवधिमा प्रचण्डले तेस्रोपटक विश्वासको मत लिन लागेका हुन्।

२०७९ पुस १० मा एमालेको समर्थनमा तेस्रोपटक प्रधानमन्त्री बनेका उनले पहिलोपटक पुस २६ गते संसदमा विश्वासको मत लिएका थिए।

गठबन्धन तोडेर नेपाली कांग्रेससँग गठबन्धन गरेपछि एमालेले समर्थन फिर्ता लिएपछि प्रचण्डले दोस्रोपटक ६ चैतमा विश्वासको मत लिएका थिए।

पछिल्लो समय कांग्रेससँगको गठबन्धन तोडेर उनले एमालेसहित रास्वपा, जसपा र एकीकृत समाजवादीसँग गठबन्धन गरेका छन्।

नयाँ गठबन्धन बनाएसँगै कांग्रेसले समर्थन फिर्ता लिएपछि एउटै कार्यकालमा प्रचण्डले तेस्रोपटक विश्वासको मत लिन लागेका हुन्।

पहिलोपटक विश्वासको मत लिँदा कांग्रेससहितको समर्थनमा प्रचण्डले २६८ मत पाएका थियो। पहिलोपटक उनले प्राप्त गरेको विश्वासको मत ९८ प्रतिशत बढी थियो।

दोस्रोपटक ६ चैतमा विश्वासको मत लिँदा प्रचण्डले १७२ मत प्राप्त गरेका थिए। दोस्रोपटक उनले पाएको विश्वासको मत ६२.५४ प्रतिशत रहेको थियो।

संघीय संसदमा सांसदहरूको संख्या २७५ रहेको छ।

गत फागुन २१ गते कांग्रेससँगको गठबन्धन तोडेर नेकपा एमालेसहित रास्वपा, एकीकृत समाजवादी र जसपासँग नयाँ गठबन्धन बनेपछि प्रचण्डले विश्वासको मत लिन लागेको यो तेस्रोपटक हो।

कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रचण्डले विश्वासको मत लिन परेको हो।

प्रमुख प्रतिपक्ष बनिसकेको संसदको सबैभन्दा ठूलो दल कांग्रेसले प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत नदिन आफ्ना सांसदहरूलाई ह्वीप जारी गरिसकेको छ।

त्यस्तै १४ सांसद रहेको राप्रपाले पनि प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको छ।

यद्यपि प्रतिनिधिसभामा बहुमतका लागि चाहिने १३८ सांसदको समर्थन प्रधानमन्त्री प्रचण्डले सहजै जुटाउने देखिएको छ।

नयाँ समीकरणअनुसार प्रचण्डलाई एमालेका ७७, माओवादीका ३२, रास्वपाका २१, जसपाका १२ र एकीकृत समाजवादीका १० सांसदको समर्थन छ।

सत्ता गठबन्धनमा आवद्ध दलहरूका सांसदको संख्या १५२ पुग्छ। यो बहुमतका लागि चाहिने संख्याभन्दा १४ बढी हो।

संसदमा अहिले कांग्रेसका ८८, राप्रपाका १४, जनमतका ६, लोसपा र नागरिक उन्मुक्ति पार्टीका ४–४ गरी ११६ मत गठबन्धन बाहिर छ।

 

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *