हेलिकप्टर दुर्घटनामा इरानका राष्ट्रपति र विदेशमन्त्रीको निधन

जनकपुरधाम- इरानका राष्ट्रपति इब्राहिम रइसीको हेलिकप्टर दुर्घटनामा निधन भएको छ।

आइतबार पूर्वी अजरबैजानको पश्चिमी प्रान्त जोफा क्षेत्रमा हेलिकप्टर दुर्घटना हुँदा राष्ट्रपति रइसी र विदेशमन्त्री हुसैन अमिर–अब्दुल्लाहियनको निधन भएको हो।

इरानी सञ्चारमाध्यमहरूका अनुसार हेलिकप्टरमा दुई पुरुष र अन्य सात जना सवार थिए।

मौसम प्रतिकूल बनेपछि उनीहरू सवार हेलिकप्टर ल्यान्डिङ हुनसकेको थिएन।

फोर्स ल्यान्डिङका क्रममा हेलिकप्टर दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ।

इरानको सरकारी टेलिभिजनले राष्ट्रपति रइसी सवार रहेका हेलिकप्टर दुर्घटना भएको क्षेत्र पत्ता लागेको जनाएको छ।

टेलिभिजनले हेलिकप्टर दुर्घटनास्थलमा ‘जीवनको कुनै संकेत नरहेको’ बताएको छ।

रोयटर्सको समाचारमा पनि इरानी अधिकारीलाई उद्धृत गर्दै हेलिकप्टर पूर्ण रूपमा जलेको जनाइएको छ।

त्यसअघि इरानी राष्ट्रपति रइसी र विदेशमन्त्री होसेन चढेको हेलिकप्टर दुर्घटनामा परेको इरानी सरकारी सञ्चारमाध्यमले जनाएका थिए।

इरानका आन्तरिक मामिलामन्त्री अहमद वाहिदीले राष्ट्रपति र विदेशमन्त्री हेलिकप्टरमा यात्रारत रहेको पुष्टि गरेका थिए।

हेलिकप्टरमा इरानको पूर्वी अजरबैजान प्रान्तका गभर्नर मलिक रहमतीसहित अन्य व्यक्तिहरू पनि चढेका थिए।

इरानको सरकारी सञ्चारमाध्यमका अनुसार हेलिकप्टरले उडानका क्रममा कठिनाइको सामना गर्नु परेको थियो।

उक्त हेलिकप्टर इरानी उच्च अधिकारीहरू लिएर उडिरहेका अन्य दुईसमेत गरी तीन हेलिकप्टरसँगै उत्तरी इरानको यात्रामा थियो।

मन्त्रीहरू र अन्य वरिष्ठ अधिकारी रहेका अन्य दुई हेलिकप्टर भने सुरक्षित रूपमा गन्तव्यमा पुगेका छन्।

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *