काठमाडौं- स्टार्टअप कर्जामा ऋण लगानी गर्न सरकार र राष्ट्रिय वाणिज्य बैंकबीच बुधबार सम्झौता भएको छ।
स्टार्टअप उद्यम कर्जा प्रवाह गर्न औद्योगिक व्यवसाय विकास प्रतिष्ठान, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो।
सम्झौताअनुसार राष्ट्रिय वाणिज्य बैंकले परियोजनाको प्रकृतिको आधारमा अधिकतम २५ लाख रूपैयाँसम्म स्टार्टअप उद्यम कर्जा प्रदान गर्ने भएको छ।
बैंकले कर्जा प्रवाह गर्दा स्वीकृत व्यवसाय वा परियोजना नै धितो राखेर सस्तो ब्याजदरमा ऋण दिनेछ। ऋण लिँदा त्यस्तो व्यवसाय वा परियोजनाको बीमा उद्यमी आफैंले गर्नुपर्नेछ।
नयाँ सोच, सीप र क्षमता भएका उद्यमीलाई परियोजना÷व्यवसाय विस्तार र दीगो व्यवसाय सञ्चालन गर्नका लागि स्टार्टअप कर्जा दिने क्रममा राष्ट्रिय वाणिज्य बैंकसँग ऋण लगानी सम्झौता भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ।
मन्त्रालयले तयार गरेको स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८० अनुसार बैंकिङ प्रक्रियामार्फत स्टार्टअप उद्यम कर्जा दिने समझदारीमा छ।
कुनै उद्यमीले किस्ता अवधिअगावै कार्जा चुक्ता गर्न चाहेमा अतिरिक्त शुल्क लाग्ने छैन। तोकिएको भाखाभित्र कर्जाको साँवा र ब्जाय भुक्तान नगरेमा बैंकले त्यसलाई खराब कर्जामा गणना गरी चुक्ता गर्न बाँकी रकम असुल उपर गर्नेछ।
स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८० ले तोकेका कृषि तथा पशुपन्छीसँग, बन पैदावरसँग सम्बन्धित, पर्यटन प्रवद्र्धन तथा मनोरञ्जनसहित एक दर्जनसँग सम्बन्धित स्वीकृत उद्योग तथा व्यवसायमा बैंक तथा वित्तीय संस्थाले ३ प्रतिशत ब्याजदरमा ऋण लगानी गर्नुपर्नेछ।
Leave a Reply