सोमबार ‘सरप्राइज’ दिँदै छन् राजेन्द्र महतो!

जनकपुरधाम- अध्यक्ष महन्थ ठाकुरले केन्द्रीय समिति विस्तार गरेपछि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) भित्रको विवाद सतहमा आयो।

पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो केन्द्रीय समिति विस्तारप्रति असहमति जनाउँदै असन्तुष्ट बने। र, अध्यक्ष ठाकुरले केन्द्रीय समिति विस्तारमा मनोमानी गरेको आरोप लगाए।

महतोको आरोप थियो– केन्द्रीय समितिमा आफूनिकटका व्यक्तिलाई समावेश गरिएन।

ठाकुर पक्षले भने केन्द्रीय समिति ल्याइएका सबै व्यक्ति पार्टी ‘क्याडेर’ नै रहेको जवाफ दिइरहे।

असन्तुष्ट बन्दै गएका महतोले गत मंसिरमा सम्पन्न विस्तारित केन्द्रीय समितिसहितको बैठक बहिष्कार गरेपछि लोसपाको विवाद झनै सतहमा आयो।

महतोसँगै अर्का नेता अनिल झा पनि केन्द्रीय समिति बैठकमा गएनन्।

महतो र झाको अनुपस्थितिलाई खासै मतलब गरेनन्। अध्यक्ष ठाकुरले पार्टीका दोस्रो तहका नेताको अनुपस्थितिका बाबजुद बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा बैठक सञ्चालन गरे।

ठाकुरले ८ असोजमा ३११ सदस्यीय केन्द्रीय समिति गठन र कार्यविभाजन गरेका थिए। उनले ६३ सदस्यीय पदाधिकारी बनाए।

ठाकुरले आफूनिकटका व्यक्तिलाई मात्र प्राथमिकता दिएको भन्दै महतो रूष्ट बने। निर्णय सच्याउन उनले अध्यक्षमाथि निरन्तर दबाब दिइरहेका थिए।

तर, उनको त्यो दबाबको असर ठाकुरमाथि परेन। अन्ततः महतो पार्टी कार्यालय जान छाडे। केन्द्रीय समिति बैठक पनि बहिष्कार गरे।

त्यसयता महतो पार्टी लाइनभन्दा फरक भएर आफ्ना गतिविधि अगाडि बढाइरहेका छन्। यसबीचमा उनले मधेस प्रदेसका आठवटै जिल्ला पुगेर आफूनिकट नेता–कार्यकर्तालाई भेटेर असन्तुष्टि पोखिसकेका छन्।

कार्यकर्ता भेटघाटमा महतोले मधेस आन्दोलन र मधेसवाद धरापमा परिसकेकोले नयाँ ढंगबाट अगाडि बढ्नुपर्ने बताउने गरेका छन्।

उनी मधेसी जनताको हक अधिकारका लागि फेरि अर्को आन्दोलन आवश्यक भएकाले तयारीमा जुट्न आग्रह गर्दै हिँडिरहेका छन्।

महतोनिकट नेताहरूका अनुसार उनी लोसपाबाट अलग्एिर नयाँ पार्टी घोषणा गर्ने ‘मुड’ मा पुगेका छन्। महतो पुराना सदभावना पार्टी ब्युँताउने तयारीमा रहेको उनीनिकट नेताहरूको भनाइ छ।

लोसपाबाट अनसुन्तष्ट बनेयता महतो सदभावना पार्टीका पुराना नेताहरूसँग निरन्तर सम्पर्क एवं संवादमा रहेकाले पनि यो सम्भावनालाई बल दिएको उनीनिकट एक नेताले बताए।

‘लोसपाभित्र केही भइरहेको छैन, पार्टी लगभग निस्क्रियजस्तै भएको छ,’ महतोनिकट एक नेताले भने,‘स्थिति राम्रो छैन केही न केही नयाँ बाटो त रोज्नै पर्ने जस्तो देखिन्छ।’

लोसपाका वरिष्ठ नेता महतोले सोमबार राष्ट्रियसभा गृहमा ‘विशेष पत्रकार सम्मेलन’ को आयोजना गरेका छन्।

दिउँसो साढे १२ बजे बोलाइएको पत्रकार सम्मेलनमा महतोले लोसपाबारे पनि सार्वजनिक धारणा राख्ने बुझिएको छ।

लोसपा नेता केशव झाले पत्रकार सम्मेलन बोलाइए पनि विषयवस्तुबारे आफूलाई पनि जानकारी नभएको बताए।

‘समसामयिक र देशको राजनीतिबारे केही कुरा राख्नुपर्ने छ भनेर पत्रकार सम्मेलन बोलाउनुभएको छ। विशेष कुरा भोलि नै थाहा पाइन्छ,’ उनले भने।

पत्रकार सम्मेलनबाटै महतोले लोसपाबाट अलग भएर नयाँ पार्टीको घोषणा गर्ने वा लोसपामै आवद्ध रहनेबारे अझै प्रष्ट भइसकेको छैन।

तर, महतोले केही ‘सरप्राइज’ पक्कै पनि दिने उनीनिकट नेताहरूको भनाइ छ।

‘प्रष्ट रूपमा हामीलाई पनि केही भन्नु भएको छैन। तिमिहरूका लागि पनि सरप्राइज हुन्छ भनेरमात्रै भन्नु भएको छ,’ ती नेता भन्छन्,‘उहाँले के लाइन लिनुहुन्छ हामी पनि त्यही लाइनमा जाने हो।’

ठाकुर–महतो टकराव बढेसँगै लोसपाले मधेस केन्द्रित विभिन्न राजनीतिक दलहरूसँग कार्यगत एकताका लागि संवाद अगाडि बढाएको छ।

लोसपा स्रोतका अनुसार कार्यगत एकताका लागि सिके राउत नेतृत्वको जनमत पार्टी, हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी, रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीलगायतसँग संवाद भइरहेको छ।

त्यस्तै लोसपाबाट अलग्एिर वृषेशचन्द लाल नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टीसँग पनि कार्यगत एकताको पहल भइरहेको छ।

कार्यगत एकताकै लागि भनेर पछिल्लो समय लोसपा र त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टीबीच बैठकहरू भएका छन्।

पहिलो चरणमा कार्यगत एकता र त्यसपछि त्रिपाठीसँग पार्टी एकताका लागि पनि प्रयास हुने लोसपाका नेताहरूले बताएका छन्।

६ वर्षअघि तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) बाट बाहिरिएका त्रिपाठी महतो लोसपाबाट ‘आउट’ भएपछि ‘इन’ गर्ने तयारीमा रहेको बताइएको छ।

जुट्दै महन्थ–हृदयेश!

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *