काठमाडौं- इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सुहाङ नेम्वाङले बुधबार सपथग्रहण गर्ने भएका छन्।
संसद सचिवालयका अनुसार बिहान ११ बजे नेम्वाङलाई सभामुख देवराज घिमिरेले सपथग्रहण गराउने भएका छन्।
सिंहदरबारस्थित कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाहलमा सपथग्रहण कार्यक्रम राखिएको छ।
सपथ दिलाएर सभामुखले उनलाई प्रतिनिधिसभा सदस्यको लोगो लगाएपछि नेम्वाङले सांसदको जिम्मेवारी पाउनेछन्।
१५ वैशाखमा भएको उपनिर्वाचनबाट एमालेका उम्मेदवार नेम्वाङ नेपाली कांग्रेसका डम्बर खड्कालाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।
२०७९ मंसिरमा भएको निर्वाचनमा त्यस क्षेत्रबाट निर्वाचित एमालेका तत्कालीन उपाध्यक्ष सुवास नेम्वाङको निधन भएपछि उपनिर्वाचन भएको थियो।
उपनिर्वाचनबाट निर्वाचित भएका सुहाङ दिवंगत नेता सुवासका छोरा हुन्।
Leave a Reply