जनकपुरधाम- सुनको सिक्री नपाएको झोँकमा विवाह अस्वीकार गरेको आरोपमा बेहुला वीरगञ्ज महानगरपालिकाका एक कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ।
सोमबार राति विवाहमण्डपमा विवाह गर्न अस्वीकार गरेका महानगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत कम्प्युटर अपरेटर उमेश साहलाई पक्राउ गरेको हो।
बेहुली पक्षले उजुरी दिएपछि प्रहरीले मंगलबार बिहानै २ बजे उमेशसहित ८ जनालाई पक्राउ गरेको हो।
दाइजोमा सुनको सिक्री नपाएको भन्दै उमेशले विवाह नै रद्द गरेका थिए।
बारा कलैया उपमहानगरपालिका–४ सिनेमा चोक बस्ने उनले दाइजोमा १२ लाख नगद, मोटरसाइकलवापत ३ लाख २५ हजार, एकथान ल्यापटप र एकथान सुनको औँठी र हनुमानको माला पाइसके पनि विवाहमण्डमा सुनको सिक्री नपाएपछि जन्ती फिर्ता लगेका थिए।
वीरगञ्ज महानगरपालिका–२४ रानीघाटका सुखल साहकी छोरी रमिता कुमारीसँग उनको विवाह तय भएको थियो।
विवाहका लागि सोमबार साँझ जन्ती पनि पुगेको थियो। रितिरिवाजअनुसार बरमालासमेत भइसकेको थियो।
बिहेका लागि मण्डपमा पुग्दा करिब २ बजेतिर उमेशले बिहे नगर्ने भन्दै आलटाल गरेका थिए।
सिक्री नपाएको भन्दै उनले विहे गर्न अस्वीकार गरेको बेहुलीपक्षको भनाइ छ।
मण्डपमा पुगेर उमेशले विवाहका लागि अस्वीकार गरेपछि बेहुली पक्षले तत्कालै प्रहरीलाई खबर गरेको थियो।
बेहुलीपक्षले दिएको जानकारीका अधारमा प्रहरीले उमेशसहित ८ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक कुमोद ढुंगेलले घटनाबारे अनुसन्धान भइरहेको बताए।
दाइजोका कारण विवाह रोकिएकाले पीडकलाई कानुनअनुसार कारबाही हुने उनको भनाइ छ।
Leave a Reply