सुदूरपश्चिममा सरकारलाई समर्थन कायमै राख्ने नागरिक उन्मुक्ति पार्टीको निर्णय

काठमाडौं- नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिममा नेपाली कांग्रेस नेतृत्वको सरकारलाई दिएको समर्थन कायमै राख्ने भएको छ।

आइतबार प्रदेससभा संसदीय दलका नेता घनश्याम चौधरीको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारलाई समर्थन कायमै राख्ने निर्णय गरेको हो।

यद्यपि बैठकमा नागरिक उन्मुक्ति पार्टीका सातमध्ये पाँच जना प्रदेससभा सदस्यमात्र उपस्थित थिए।

बैठकमा सहभागी भएका नागरिक उन्मुक्ति पार्टीका सांसदहरू अहिले सरकारमा सहभागी छन्।

केन्द्रमा राजनीतिक समीकरण फेरिएसँगै माओवादी केन्द्र र नेकपा(एकीकृत समाजवादी) ले समर्थन फिर्ता लिएपछि सुदूरपश्चिममा शाह नेतृत्वको सरकार अल्पमतमा परेको छ।

नागरिक उन्मुक्ति पार्टीले समर्थन कायमै राखे पनि शाहलाई बहुमत पु¥याउन दुई मत अपुग हुने देखिन्छ।

राप्रपाकी खेमादेवी विष्ट र स्वतन्त्र सांसद ताराप्रसाद जोशीले समर्थन गरेमात्र उनलाई आवश्यक पर्ने बहुमत सांसद २७ पुग्छन्।

केन्द्रमा गठबन्धन फेरिए पनि नागरिक उन्मुक्ति पार्टीले सरकारलाई विश्वासको मत दिएको थियो।

फरक गठबन्धनलाई सुदूरपश्चिममा समर्थन गरेर नागरिक उन्मुक्ति पार्टीले केन्द्रभन्दा इतर राजनीति अगाडि बढाउने संकेत दिन खोजेको छ।

नागरिक उन्मुक्ति पार्टीले समर्थन फिर्ता नलिएपछि मुख्यमन्त्री शाहले आफ्नो पक्षमा बहुमत पु¥याउने प्रयासस्वरूप यो पार्टीबाट राज्यमन्त्रीसहित चार जनालाई मन्त्री बनाएका थिए।

केन्द्रमा सरकारलाई विश्वासको मत दिने र प्रदेसमा सरकार विस्तारका विषयमा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठबीच विवाद भएको थियो।

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *