‘सीमा’ ननाघ्न अमेरिकालाई चीनको चेतावनी

जनकपुरधाम- चिनियाँ विदेशमन्त्री अमेरिकी समकक्षी एन्टोनी ब्लिङ्कनलाई चीनको मामिलामा अमेरिकाले ‘अमेरिकाले सीमा नाघ्न नहुने’ बताएका छन्।

यी दुई देशका विदेशमन्त्रीहरूले शुक्रबार चीनको राजधानी बेइजिङमा भेटवार्ता गरेका हुन्।

चिनियाँ विदेशमन्त्री वाङले बैठक सुरू गर्दै भने, ‘चीन र अमेरिका सही दिशातर्फ अघि बढेर स्थिरता कायम गर्नुपर्छ कि अधोगतितर्फ मोडिनुपर्छ?’

उनको यो मन्तव्य कूटनीतिक रूपमा बढी चेतावनीपूर्ण जस्तो देखिएको छ।

उनले चीन–अमेरिका सम्बन्ध स्थिर हुन थालेको तर अझै पनि ‘नकारात्मक कुराहरू’ ले गर्दा त्यसको परीक्षण भइरहेको बताए।

अमेरिकी विदेशमन्त्री ब्लिङ्कन एक वर्षभित्र दोस्रोपटक तीनदिने भ्रमणमा चीन गएका हुन्।

शुक्रबारै चिनियाँ राष्ट्रपति सी जिन्पिङसँग भेट गर्दै उनले आफ्नो चीन भ्रमणका औपचारिक भेटघाट टुंग्याएका छन्।

चिनियाँ राष्ट्रपतिले ब्लिङ्कनलाई अमेरिका र चीन ‘प्रतिस्पर्धी नभइ साझेदार हुनुपर्ने’ बताएका छन्।

उनले साझेदार भएकाले दुई देशबीच ‘खराब खालको प्रतिस्पर्धा’ हुनु नहुनेमा पनि जोड दिए।

वाङ यी र ब्लिङ्कनबीच भने सीसँगको भेटघाटभन्दा केही घन्टाअघि कुराकानी भएको थियो।

यो कुराकानीअघि शुक्रबार नै चिनियाँ विदेशमन्त्रीले दुवै देशहरूले कि सहकार्य गर्नुपर्ने वा त्यस्तो नभए टकराव हुने र त्यसले द्वन्द्व निम्त्याउनसक्ने चेतावनी दिएका थिए।

उनले चीनको मुख्य चासो र चिन्ता उसको सम्प्रभुता, सुरक्षा र विकास भएकाले त्यसलाई ननाघ्न अमेरिकालाई चेतावनी दिए।

‘सम्बन्धमा नकारात्मक कुराहरू अझै बढिरहेका छन् र भइरहेका छन् अनि सम्बन्धले सबैखालका गतिरोधहरू खेपिरहेको छ,’ उनले भने, ‘चीनका विकाससम्बन्धी वैधानिक अधिकारहरू कारणविनै दबाइएका छन् र हाम्रा मुख्य चासो तथा हितले चुनौतीको सामना गरिरहेका छन्।’

वाङले ती चुनौतीहरू के हुने भन्ने खुलाएनन्। तर, यी दुई महाशक्ति राष्ट्रबीच कैयौं संवेदनशील मामिलामा विवादहरू कायम छन्।

त्यस्ता कुरामा दुई देशको साउथ चाइना सीमामा भइरहेको उपस्थिति, ताइवान सरकारलाई अमेरिकाले दिइरहेको सहायता र मानवअधिकारलगायतका विषयहरू छन्।

ब्लिङ्कन भने सञ्चारमाध्यमसमक्ष वाङभन्दा बढी सचेत अवस्थामा प्रस्तुत भए।

उनले ‘सक्रिय कूटनीति’ तर्फ अघि बढ्नका लागि बेइजिङ र वाशिङ्टन दुवैको साझा जिम्मेवारी भएको बताए।

उनले ‘अघि बढ्नका लागि दुई देशबीच प्रत्यक्ष कुराकानीको कुनै विकल्प नभएको’ मा जोड दिए।

आफ्नो देशको मात्र नभइ विश्वभरिका मानिसहरूका लागि पनि दुई देशको सम्बन्धको अर्थ हुने भएकाले आफूहरू त्यसमा सचेत बन्नुपर्ने उनको भनाइ थियो।(बिबिसीबाट)

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *